दिनको तीन बट्टा चुरोट खान्थेँ गायक अनिल सिंह, चिकित्सकले खुट्टा काट्नुपर्छ भनेपछि...

दिनको तीन बट्टा चुरोट खान्थेँ गायक अनिल सिंह, चिकित्सकले खुट्टा काट्नुपर्छ भनेपछि...

काठमाडौँ ।  गायक अनिल सिंहले अत्याधिक धुम्रपानका कारण आफ्नो स्वास्थ्य अवस्था निकै जटिल मोडमा पुगेको खुलासा गरेका छन्। 

हाल साङ्गीतिक भ्रमणका क्रममा अस्ट्रेलियामा रहेका उनले एक भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्य समस्या र व्यक्तिगत सङ्घर्ष सार्वजनिक गर्दै चिकित्सकले खुट्टा काट्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएपछि आफू अस्ट्रेलिया आइपुगेको बताएका हुन्।

विगतमा आफू ‘चेन स्मोकर’ रहेको र दैनिक दुईदेखि तीन बट्टासम्म चुरोट पिउने गरेको स्वीकार्दै उनले त्यसैको असर खुट्टामा देखिएको बताएका छन्। समस्या बढेपछि काठमाडौंमा जाँच गराउँदा चिकित्सक डा दिपेश शाक्यले खुट्टा गुमाउनुपर्ने जोखिम औँल्याउँदै तत्काल धुम्रपान त्याग्न सल्लाह दिएका थिए। 

सो घटना सम्झिँदै उनले भनेका छन्, ‘चिकित्सकले खुट्टा काट्नुपर्ने अवस्था आउन सक्छ भनेपछि म एकदमै आत्तिएँ र नेपालबाट अस्ट्रेलियातिर भागेँ।’ नेपालमा रहँदा कुलत त्याग्न कठिन हुने लागेका बेला अस्ट्रेलिया भ्रमणको अवसर जुरेको उनले उल्लेख गरेका छन्।

अस्ट्रेलियाको भिसा प्रक्रिया छोटो समयमै टुङ्गिएको स्मरण गर्दै उनले बुधबार बायोमेट्रिक दिएर बिहीबार भिसा प्राप्त भएलगत्तै सोही दिन उडेको बताएका छन्। अस्ट्रेलिया बसाइका क्रममा उनले हालै सिड्नी र तास्मानियामा आयोजित ‘नेपाल फेस्टिभल’ मा साङ्गीतिक प्रस्तुति दिइसकेका छन् भने आगामी नोभेम्बर २८ मा एडिलेडमा हुने कार्यक्रमको तयारीमा छन्।

साङ्गीतिक यात्राका क्रममा साथमा रहेका कलाकारहरू प्रकाश सपुत र रचना रिमालले आफ्नो स्वास्थ्यको निकै ख्याल राखेको उनले जानकारी दिएका छन्। विशेष गरी प्रकाश सपुतले चुरोट सेवनमा कडा निगरानी राखेको स्मरण गर्दै सिंहले आफ्ना सहकर्मी नेपाल फर्किएपछि आफू केही एक्लो महसुस गरिरहेको बताएका छन्। हाल चिकित्सकले सिफारिस गरेका औषधि नियमित सेवन गरिरहेका उनले दैनिक एक–दुईवटामा सीमित गरेको चुरोटलाई एडिलेड कार्यक्रमपछि पूर्ण रूपमा छाड्ने अठोट व्यक्त गरेका छन्।

आफ्नो गल्ती र स्वास्थ्यको लापरबाहीबाट पाठ सिक्न आग्रह गर्दै उनले सबैलाई धुम्रपान त्याग्न अपिलसमेत गरेका छन्। जीवन अनिश्चित रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘शरीरमा सास रहुन्जेल स्रोता तथा दर्शकलाई आफ्नो सङ्गीतमार्फत मनोरञ्जन दिलाइरहनेछु।’