राजावादीको प्रदर्शनपछि आत्तिएका प्रचण्ड

राजावादीको प्रदर्शनपछि आत्तिएका प्रचण्ड

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा सडकमा जनता ओर्लिएपछि गणतन्त्र व्यवस्था पक्षधर शक्तिहरुको सक्रियता बढेको छ। गणतन्त्रको पिता भनेर दाबी गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफैं राजावादीहरुको प्रदर्शनलाई लिएर अत्तालिएका छन्।

सत्तामा बस्ने दल कांग्रेस र एमाले नेतृत्व राजावादीको प्रदर्शनलाई लिएर मौन बसेको बेलामा सरकारकै विरोधमा सडकदेखि सदनसम्म संघर्ष चलाईराखेका प्रचण्ड भने एकाएक राजावादीहरुलाई काउन्टर दिन पार्टीको जारी कार्यक्रम रोकेर मधेशबाट काठमाडौं हानिए। उनी व्यवस्थामाथि संकट आईलाग्यो भन्दै काठमाडौं आकस्मिक आउनुलाई धेरैले आश्चर्यको रुपमा हेरेका छन्।

कतिसम्म भने ‘जनतासँग माओवादी’ कार्यक्रम हुलाकी राजमार्गकेन्द्रित अभियान कोशीको झापाबाट मधेशको रौतहटसम्म पुग्दै गर्दा अभियानमा जोडिएका शीर्ष नेताहरुलाई समेत थाहै नदिई प्रचण्ड एकाएक काठमाडौं हानिए। उनी रौतहटको कार्यक्रम अचानक स्थगन् गरेर बाराको सिमरा विमानस्थलबाट काठमाडौं आए। जबकी अभियानमा जोडिएका प्रभावशाली नेताहरु अघिल्लो दिनको कार्यक्रमको लागि बारा पुगिसकेका थिए।

प्रचण्ड काठमाडौं आउनेबित्तिकै माओवादी पदाधिकारीको बैठक डाके। बैठकबाट पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा निस्किएको जुलुश तथा प्रदर्शन अस्वभाविक भएको निश्कर्ष निकालियो। तत्काल समाजवादी मोर्चाको बैठक बस्ने र राजावादीहरुको प्रदर्शनलाई काउन्टर दिने तयारी गरियो । नभन्दै समाजवादी मोर्चाले यही चैत्र १५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तय भएको छ।

यसरी प्रचण्ड सक्रिय हुँदा उता सत्तामा बसेका कांग्रेस र एमालेले भने त्यस्तै कुनै काउन्टर तयारी गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै राजावादीहरुको प्रदर्शनलाई लिएर प्रतिक्रियाविहीन छन् । देउवाले त सार्वजनिक रुपमै ज्ञानेन्द्रको पक्षमा उल्लेखनीय प्रदर्शन नभएको भन्दै चिन्ता लिनुपर्ने ठाउँ नभएको टिप्पणी गरेका थिए । प्रधानमन्त्री ओलीले पनि इतिहासको रछ्यानमा पुगेका पात्रले टाउको यसो उठाएपनि उनीहरु अब फेरि फर्कने सम्भावना नभएको भन्दै खासै भाउ दिएका छैनन् । 

संयोग कस्तो छ भने प्रमुख दल कांग्रेस, एमाले र माओवादीको नेतृत्वले मधेशको महोत्तरीबाट पूर्वराजाको विरोधमा एकस्वरमा जवाफ फर्काएका थिए । तर, उनीहरुको कार्यक्रम भने बेग्लाबेग्लै दिनमा आयोजना भएको थियो । प्रचण्डले विपक्षी दलको नेताको नाताले संसद्मा पनि विशेष सम्बोधन गरिसकेका छन् । उनले अहिले जनता पूर्वराजाको पक्षमा आउनुको कारण पनि वर्तमान सरकारलाई दोष दिएका छन्। दाहालले अहिलेको सरकारविरुद्ध निरन्तर दबाब बढाएका छन् ।