सफ्टवेरिका कलेजमा आइओटी प्रदर्शनी सम्पन्न, पाँच हजारभन्दा बढीले गरे अवलोकन

सफ्टवेरिका कलेजमा आइओटी प्रदर्शनी सम्पन्न, पाँच हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । सफ्टवेरिका कलेजको आयोजनामा चार दिने आइओटी प्रदर्शनी सम्पन्न भएको छ । कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा विद्यार्थीहरुले तयार पारेका विभिन्न प्रोजेक्टको आईओटीमा प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गरेको आयोजक सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड ईकमर्सले जनाएको छ ।

डिल्ली बजारमा रहेको कलेज प्राङ्गणमा आयित कार्यक्रममा अटोनोमस भियकल, स्मार्ट व्हीलचेयर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैंचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहर व्यवस्थापन, रोबटिक हात लगायत ३० वटा प्रोजेक्टको नमूना प्रदर्शनीमा राखिएका थिए । त्यसमध्ये स्मार्ट सवारी नेपालको कलेज स्तरमा पहिलो पटक निर्माण गरिएको प्रोजेक्ट भएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । उनका अनुसार प्रदर्शनीमा राखिएका स्मार्ट सोलुसनका मोड्युल सफ्ट्वेरिका कलेजमा कम्प्युटिङ र साइबर सेक्युरिटी विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तयार गरेका हुन् ।

विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिँदै दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्युटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको कलेजका प्रिन्सिपल प्रमोद पौडेलले बताए । उनका अनुसार निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनी अवलोकनका लागि नीति निर्मातादेखि निजी क्षेत्र, विद्यार्थी, अभिभावक र आईटी क्षेत्रमा रुची राख्नेहरु आएका थिए ।

बेलायतको कोभेन्ट्री विश्वविद्यायलको आईटी पाठ्यक्रम अध्यापन गराइरहेको सफ्ट्वेरिका कलेजले बीआईटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब समेत तयार गरेको छ । हालको प्रदर्शनी सोही इनोभेसन हवमै विद्यार्थीले तयार गरेका हुन् ।

कलेजको पढाई सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकुन भन्ने उद्देश्यका साथ इनोभेसन हबको परिकल्पना गरिएको कलेजका निर्देशक अमृत थापाले बताए । आर्थिक अभावको कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले व्यावसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँसम्म अनुदान दिने व्यवस्था मिलाएको थियो ।