सर्वोच्चको फैसलासँगै सुवास नेम्वाङले बोली फेरे, भने-'मेरो कुरा अदालतले स्थापित गर्यो'

सर्वोच्चको फैसलासँगै सुवास नेम्वाङले बोली फेरे, भने-'मेरो कुरा अदालतले स्थापित गर्यो'

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला गरेलगत्तै नेकपाका नेता सुवास नेम्वाङले बोली फेरेका छन् । एक अनलाइनले लिएको प्रतिक्रियामा उनले आफूले भनेको कुरा अदालतले स्थापित गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि निकै समय गुमनाम बसेका नेम्वाङले केहि सभाहरूमा प्रधानमन्त्रीले चालेको कदम संविधानसम्मत रहेको बताएका थिए । तर सर्वोच्चको फैसला लगत्तै भने उनले बोली फेरेका छन् ।

अहिले भने नेता नेम्वाङले आफूले प्रधानमन्त्रीलाई भनेकै कुरा फैसलाबाट स्थापित भएको समेत बताएका छन्। उनले भनेका छन्, ‘मैले प्रधानमन्त्रीलाई जे भनेको थिएँ त्यो स्थापित भयो, मुख्यतस् सम्मानित अदालतले फैसला गरेको छ। संसद् विघटनलाई बदर गरेको छ। त्यो अदातलको फैसलालाई मान्दै अगाडि बढ्नुपर्छ।’

तपाईंको छविमा दाग लाग्यो नि ? भन्ने प्रश्नमा उनले यसको खण्डन नगर्ने बताएका छन् । ‘सम्मानित सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुअघि मैले आफ्ना राय प्रधानमन्त्रीज्यू समक्ष राखेको थिएँ’ उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीको उक्त कदमपछि गुमनाम बसेको बेला नेम्वाङको एउटा भिडियो भाइरल बनेको थियो । त्यसमा उनले भनेका थिए ‘प्रधानमन्त्रीले सनकको भरमा संसद विघटन गर्न पाउँदैन’ । यो भिडियोले उनलाई निकै विवादमा फसेको थियो ।