काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा ‘पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ सङ्कल्प’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन्। प्रतिवेदनमार्फत उनले तत्काल नेतृत्व छाड्न अस्वीकार गर्दै कठोर आत्मसमीक्षा, सङ्गठनात्मक पुनर्निर्माण र पुनर्जागरणको बाटो रोज्नुपर्नेमा जोड दिएका छन्।
अध्यक्ष ओलीले गत फागुन २१ गतेको निर्वाचनमा भोग्नुपरेको पराजय र गत भदौ २३–२४ का घटनाहरूको बहुआयामिक समीक्षा गर्दै तिनलाई बाह्य घेराबन्दी, डिजिटल चरित्रहत्या र आन्तरिक कमजोरीको संयुक्त परिणामका रूपमा व्याख्या गरेका छन्। यस्ता चुनौतीबाट निराश नभई सुदृढीकरणको अवसरका रूपमा लिन आग्रह गर्दै उनले मुलुकमा देखिएको संवैधानिक सङ्कट र भूराजनीतिक चलखेलप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।
आफूलाई अध्यक्षबाट हटाउन भइरहेका प्रयासहरूलाई ‘बेमौसमी बाजा’को संज्ञा दिँदै ओलीले पार्टी इतिहासका वास्तविक पुनर्गठनहरूसँग अहिलेको बहसको कुनै तुलना हुन नसक्ने तर्क गरेका छन्। आफू व्यक्तिगत पदका लागि नभई पार्टीको मनोबल र सङ्गठनात्मक स्थिरताका लागि उभिएको स्पष्ट पार्दै उनले गल्ती स्वीकार गरेर सुधार गर्ने नेतृत्वले मात्रै सङ्गठनलाई अघि बढाउन सक्ने बताएका छन्।
हस्तान्तरण र पुस्तान्तरणका विषयमा बोल्दै अध्यक्ष ओलीले पद खाली गर्ने आकस्मिक वा मनमौजी प्रक्रिया नभई संस्थागत तयारी, ज्ञान र अनुभवको योजनाबद्ध हस्तान्तरण हुनुपर्नेमा जोड दिएका छन्।
उमेरको अङ्कगणित मात्रै नेतृत्वको योग्यता हुन नसक्ने र बिनातयारीको हस्तान्तरणले पार्टीमा रिक्तता ल्याउने चेतावनी दिँदै उनले युवाका असन्तोष स्वीकार्य भए पनि भीडको बलमा संवैधानिक संरचनामाथि भएका आक्रमणलाई वैध मान्न नसकिने निष्कर्ष निकालेका छन्।
नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन खोजिएकोप्रति सजग गराउँदै ओलीले राष्ट्रिय हित, सार्वभौमिकता र सन्तुलित कूटनीतिलाई एमालेको मुख्य नीति बनाउनुपर्ने स्पष्ट पारेका छन्। पार्टीलाई पुनः गतिशील बनाउन 'सत्य जनतासम्म', 'जनहितकेन्द्रित प्रतिपक्ष', 'डिजिटल पुनर्निर्माण' र 'युवा नेतृत्वको वास्तविक निर्माण' लगायत १५ वटा प्रमुख सङ्गठनात्मक कार्यभारहरू तय गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा साकार पार्न सम्पूर्ण पार्टी पङ्क्तिलाई एकजुट हुन आह्वान गरेका छन्।