संसद पुनःस्थापना भए नेकपाको एकता जोगिन्छ : नेता भुसाल

संसद पुनःस्थापना भए नेकपाको एकता जोगिन्छ : नेता भुसाल

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता घनश्याम भुसालले संसद पुनःस्थापना भए पार्टी एकता जोगिने बताएका छन् । संसद विघटनपछि नेकपा २ भागमा बाँडिएकोमा संसद पुनःस्थापना हुँदा पार्टी एकीकृत हुने र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको गम्भीर समीक्षा हुने उनले बताए ।

नेकपा तिलोत्तमा नगर कमिटीले शनिवार मणिग्राममा आयोजना गरेको विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्दै नेता भुसालले संसद पुनःस्थापनाको विकल्प नभएको स्पष्ट पारे ।  उनले सेटिङबाहेक अर्को कुनै तरिकाले संसद पुनःस्थापनालाई रोक्न नसक्ने दाबी गरे । संसद पुनःस्थापना नभए मुलक डरलाग्दो भूमरीमा फस्ने र हालसम्म प्राप्त उपलब्धिहरू नासिने उनले बताए ।

न्यायालयलाई प्रभावित पार्न नदिनका लागि दबाब दिनुपरेकाले सडक आन्दोलन गर्नुपरेको बताउँदै नेता भुसालले ३ महिनाभित्र संसद पुनःस्थापना हुने विश्वास व्यक्त गरे । संसद पुनःस्थापना हुन नदिने षड्यन्त्र विरुद्धको आन्दोलनलाई सफल बनाउन सबै न्यायप्रेमीहरू एकै ठाउँमा गोलबन्द हुनुपर्ने बताउँदै उनले देशका बुद्धिजीवी, संविधानविद्, कानूनविद् सबै संसद विघटनको विपक्षमा रहेकाले पनि प्रधानमन्त्रीको असंवैधानिक कदम सच्चिने बताए  ।