‘हुंकार मधेस’ नामक नयाँ राजनीतिक अभियानको घोषणा: ५०० अर्ब डलरको जीडीपी र थर हटाउनेसहितका एजेन्डा अघि सारियो

‘हुंकार मधेस’ नामक नयाँ राजनीतिक अभियानको घोषणा: ५०० अर्ब डलरको जीडीपी र थर हटाउनेसहितका एजेन्डा अघि सारियो

काठमाडौं। एक सयभन्दा बढी युवाहरू संगठित भई ‘हुंकार मधेस’ नामको नयाँ राजनीतिक अभियान गठन गरेका छन्। अभियानले अवधारणा पत्र तथा केन्द्रीय अभियन्ताहरूको सूची सार्वजनिक गर्दै मधेस र देशको राजनीतिक, सामाजिक एवम् आर्थिक रूपान्तरणका लागि बहुआयामिक एजेन्डा अघि सारेको हो।

‘हुंकार मधेस’ले मौलिकतावादको वैचारिकी र सामुदायिक समाजवादको अर्थनीति स्थापित गर्ने लक्ष्य राख्दै ‘पाँच स’ अर्थात् सनातन, संघीयता, सामाजिक न्याय, सुशासन र समृद्धिको मान्यतामा आधारित रहेर शासन व्यवस्था सञ्चालन हुनुपर्ने धारणा अघि सारेको छ।

सामाजिक रूपान्तरणका लागि जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्दै सामूहिक पहिचान कायम गर्न नामबाट 'थर' हटाउने अभियान चलाउने घोषणा गरिएको छ। साथै, पार्टी तथा लाभका पदहरूमा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था हुनुपर्ने मागसमेत अभियानले गरेको छ।

हाल अभियानमा ११८ जना अभियन्ता जोडिएका भए पनि मुख्य नेतृत्व तोकिएको छैन। केही दिनभित्रै संयोजकको टुङ्गो लगाइने अभियन्ता केशव झाले जानकारी दिएका छन्। अभियानले संगठनको कार्यकारी अध्यक्ष वा संयोजक बन्न ४९ वर्ष र कुनै पनि समितिमा रहन ६५ वर्षको उमेर हद प्रस्ताव गरेको छ।

त्यसैगरी संगठनमा ४० वर्षमुनिका ४० प्रतिशत, ६० वर्षमुनिका ४० प्रतिशत र ६० वर्षमाथिका २० प्रतिशत सदस्यहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने अवधारणा अघि सारिएको छ। एकल अध्यक्षीय प्रणालीको साटो लोकतान्त्रिक तथा सामूहिक नेतृत्व प्रणाली, राजनीतिसँगै उद्यमशीलता र नेतृत्वका लागि निश्चित शैक्षिक योग्यताको प्रस्तावसमेत गरिएको छ।

अभियानले पूर्वीय दर्शन, सनातन संस्कृति र ज्ञानप्रणालीको संरक्षण, लाल आयोगको प्रतिवेदन सार्वजनिक र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेको छ। साथै, ‘संघीय लोकतान्त्रिक हिन्दु गणराज्य’को घोषणा, समग्र थरुहट–मधेसलाई एक स्वायत्त प्रदेश बनाउने, चुरे संरक्षणका लागि प्राधिकरण गठन तथा किसानलाई प्रत्यक्ष अनुदानको व्यवस्था गर्ने प्रस्ताव अघि सारिएको छ।

आर्थिक लक्ष्यतर्फ, आगामी १० वर्षभित्र नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) लाई वर्तमान ४२ अर्ब अमेरिकी डलरबाट बढाएर ५०० अर्ब डलर पुर्‍याउने र प्रतिव्यक्ति आय १५ गुणाले वृद्धि गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरिएको छ।

छुटाउनुभयो कि ?