युरोपका आठ देशमा नयाँ प्रकारको कोरोनाको स‌ङ्क्रमण भएको पुष्टि

युरोपका आठ देशमा नयाँ प्रकारको कोरोनाको स‌ङ्क्रमण भएको पुष्टि

काठमाडौं । नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ । युरोपेली संघ अन्तर्गतका आठ ओटा देशमा नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

डब्ल्यूएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको जानकारी दिनुभयो । उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइकासाथ पालना गर्नु पर्नेमा पनि जोड दिए ।
   
कोरोनाको पुरानो भाइरसकोभन्दा फरक नतिजा देखाउँदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको पनि उनले जानकारी दिएका छन् । नयाँ प्रकारको कोरोना देखिएका आठ देशको पहिचान भएको बताए पनि उनले देशहरुको नाम भने उल्लेख गरेका छैनन् ।

उनले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुन पानीले हात हुने वा स्यानिटाइजरको प्रयोग गर्नेलगायतका उपायहरुलाई कडाइकासाथ अवलम्बन गर्न पनि आह्वान गरे । 'डब्ल्यूएचओले सबै अवस्थालाई गम्भीरतापूर्वक नियालिरहेको छ,' निर्देशक क्लुगले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

यसको गुण, लक्षण, असरलगायतका बारेमा अध्ययन अनुसन्धान भइरहेको र नतिजा आएर धेरै कुरा प्रष्ट भइसकेपछि मात्रै थप नयाँ रणनीति तय गर्न सकिने डब्ल्यूएचओको भनाइ छ । नयाँ प्रकारको कोरोना बेलायतमा गएको हप्ता पुष्टि गरिएको थियो । यो नै पहिलो पटक पुष्टि भएको हो । त्यसपछि बेलायतबाट अन्य देशहरुमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ । तर अन्य देशहरुमा पनि फैलिएको पुष्टि भइसकेको छ ।