कक्षा १२ को परीक्षा कहिले हुन्छ ? परीक्षा बोर्डले दियो यस्तो जानकारी

कक्षा १२ को परीक्षा कहिले हुन्छ ? परीक्षा बोर्डले दियो यस्तो जानकारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा छठलगत्तै हुने जनाएको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले मन्त्रिपरिषदले परीक्षा लिने बाटो खुलाइदिएकाले छठलगत्तै परीक्षा हुने बताए। बुधवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीनै तहले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना गरी परीक्षा सञ्चालनको स्वीकृति दिएको जानकारी दिएका थिए। 

मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयको सिफारिसमा आयोग, विश्वविद्यालय, बोर्ड, प्रतिठान र विद्यालयलाई सबै तहको परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो। 

बोर्ड अध्यक्ष पौडेलले परीक्षा तालिका र मोडालीटीबारे एक–दुई दिनमा निर्णय सार्वजनिक गरिने बताए। यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा मोडालिटीबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुई विकल्प पेश गरेको थियो जसमा पहिलो विकल्पमा परम्परागत रुपमा नै चरणबद्ध परीक्षा लिइने उल्लेख छ। 

जसमा कोरोना महामारी कम भएका जिल्लाहरुमा भौतिक दूरी कायम राखेर तथा स्वास्थ्यका मापदण्ड पुरा गरेर परीक्षा लिइनेछ। दोस्रो विकल्पमा  १०० पूर्णांकको लिखित परीक्षा नलिइ केही प्रतिशत लिखित र केही प्रयोगात्मक लिने सुझाव पनि पेश गरेको थियो ।