एसिड (तेजाब) आक्रमण महिलाविरुद्धको हिंसाका विभिन्न स्वरुपमध्ये एक हो । एसिड आक्रमण कुनै विशेष जाति, धर्म वा भौगोलिक स्थानमा सीमित छैन, यो एक विश्वव्यापी समस्या हो । पछिल्लो समय नेपालमा पनि एसिड आक्रमण भएका थुप्रै घटना छन् । फितलो कानुन, नियमनबिनाको एसिड व्यापार, मानसिक रोग र जनचेतनाको कमीका कारण वर्षेनी थुप्रै महिला एसिड आक्रमणमा परेका छन् । कतिपय किशोरीले यसको पीडा सहन नसकेर अस्पतालको शैयामै आफ्नो देहत्याग गर्छन् भने बाँचेकाहरु उदाहरणीय पात्र बनेर अघि बढिरहेका छन् । यहाँ यिनै पीडालाई शक्तिमा बदलेर आफ्ना सपना साकार गर्न हिँडेका ३ एसिडपीडितको चर्चा गरिएको छ ।
१. संगीता मगर
६ वर्ष अगाडि अर्थात् २०७१ फागुन १० गते काठमाडौं, वसन्तपुरमा रहेको एक ट्युसन सेन्टरको कक्षाकोठामा एसिड आक्रमण भएको थियो । नजिकिँदै गरेको एसएलसी बोर्ड परीक्षाको तयारीमा जुटेका संगीता मगर र सीमा बस्नेतमाथि जीवन विक नाम गरेका युवकले पारिवारिक झगडा र बदलाको भावनाले एसिड छ्यापेका थिए । एसिड आक्रमणले उनीहरुको अनुहार जल्यो, अनुहार सँगसँगै उनीहरुका अनमोल सपना पनि जले । एसिड संगीतालाई लक्षित गरेर छ्यापिएको थियो । संगीतामाथि यसको असर धेरै नै पर्यो। १७ वटा शल्यक्रियासँगै लामो समयको अस्पताल बसाइपछि पनि संगीताको अनुहार पुरानै अवस्थामा आउन सकेन । मेडिकल साइन्सले उनलाई पुरानै अवतारमा फर्काइदिन भने सकेन । पुरानो अनुहारको झझल्को आउने कारणले गर्दा धेरै समय सम्म संगीताले आफ्नो अनुहार ऐनामा हेर्न सकिनन् । उनले फेरिएको आफ्नो स्वरुपलाई निकै समयसम्म स्वीकार्न सकिनन् ।
मनमा उब्जिएका नकारात्मक सोचहरुले अस्पतालको शैयादेखि आफ्नो घर आइपुग्दासम्म पनि पछ्याइरहेकाले आत्महत्याका लागि कैयौँ कोसिस गरिन् तर परिवारप्रतिको माया र परिवारले आफूप्रति राखेको विश्वासले उनलाई रोकिरह्यो । समाज र छरछिमेकीले घटना भएपछि कुरा काट्ने, बाटोमा हिँड्दा घुरेर हेर्ने कारणले गर्दा साढे तीन वर्षसम्म उनले घर बाहिर निस्किने हिम्मत गरिनन् । बिस्तारै संगीतामा एउटा सकारात्मक शक्ति पलायो । त्यही शक्तिले उनलाई बाँच्ने साहस पनि प्रदान गर्यो। अहिले संगीता एसिड आक्रमणमा पर्नेहरुको उपचार, पुनर्स्थापना र क्षतिपूर्तिका लागि क्रियाशील छिन् । बाँकी जीवन आफूजस्तै एसिड आक्रमणमा पर्नेहरुका लागि खर्चिने उनी बताउँछिन् । हालै एसिड आक्रमणमा परेकी जेनी खड्काको उपचार तथा पुनर्स्थापनाका लागि पनि संगीताले आफ्नै तवरले अभियान चलाएकी थिइन् ।
२. मुस्कान खातुन अन्सारी
भर्खर १५ वर्षमा टेकेकी वीरगन्ज निवासी मुस्कान खातुन अन्सारीलाई विद्यालय जाने क्रममा गत वर्ष भदौमा प्रेम प्रस्ताव स्वीकार नगरेकै कारण एसिड आक्रमण गरियो । एसिडले उनको सबै शरीर र रुपलाई कुरुप त गराउन पाएन तर उनको अनुहारको केही भाग र दाहिने हातमा परेको एसिडको जलनले भने अहिलेसम्म नै भित्रभित्रै जलाइरहेको छ । करिब ५ महिनाको अस्पताल बसाइ र शल्यक्रियाले उनको बाहिरी घाउ केही हदसम्म ठिक भएको छ तर त्यो घटना सम्झिँदा अहिले पनि झस्किने गर्छिन् ।
उनलाई जिन्दगीमा सबैभन्दा धेरै प्रेम किताब र पढाइमै थियो । आमाबुवाले उनलाई डाक्टर बनाउने सपना देखेका थिए । मुस्कानले जिन्दगीको सबैभन्दा विभत्स दिनहरु बाँचेको वर्षदिन कटिसकेका छन् । केही महिना रोएर बिते । केही महिना अर्धबेहोसीमै । तर, आजकल उनले रुन बिर्सिसकेकी छन् । जिन्दगीमा आइलागेको घटना भोग्नैपर्ने यथार्थबोध भइसकेको छ । केही समय आफ्नो अनुहारसँग तर्सेर आफूलाई कोठाभित्र बन्द राखेकी मुस्कान अन्ततः परिवारको हिम्मत, बलिउड र नेपाली सेलिब्रेटीको साथले आफ्नो सपना साकार गर्न बाहिर निस्केकी छन् ।
एसिड प्रहार गर्नेहरूले सायद मुस्कानको मुस्कान खोस्न खोजेका थिए, तर त्यस्तो त्रासद घटना भोगेर यहाँसम्म आइपुग्दा पनि मुस्कानले आफ्नो मुस्कान सँगालेर राखेकी छन् । जिन्दगीको कालो दिन भुल्दै गएकी मुस्कानसँग सपनाबाहेक विगतप्रति गुनासो छैन । आत्मविश्वास बढ्दै गएको छ । मुस्कानलाइ लाग्छ, आफू कमजोर हुनु भनेको अपराधीहरुलाई हौसला दिनु सरह हो । आफूलाई यस्तो हालतमा पुर्याउनेहरुका अगाडि जिन्दगीमा केही गरेर देखाउनुपर्छ भन्ने दृढता उनमा छ । मुस्कान अहिले सबै कुरा बिर्सेर आफ्नो सपना साकार गर्नेतर्फ लम्किरहेकी छन् । आफूलाई परेको जस्तो पीडा कसैलाई नपरोस् भने चाहना छ उनको । डाक्टर भएर समाजसेवा गर्ने उनको जीवनको लक्ष्य हो ।
३. जेनी खड्का
गत वर्ष जेठमा घरायसी झगडाको कारण जेनी खड्कालाई आफ्नै पतिले कोठा अगाडि एसिड आक्रमण गरे । कालोपुलमा आमा र बहिनीसँग बसेर एक सहकारीमा काम गर्दे आफ्नो जीविकोपार्जन गर्दै थिइन् जेनी । उनकी आमाले पनि घरेलु श्रम गरेर उनलाई सहयोग गर्दै आएकी थिइन् । घटना हुनु दुई वर्षअघि उनको बुवाको मृत्यु भएको थियो।
जेनीले १५ वर्षकै कलिलो उमेरमा भागी विवाह गरेकी थिइन् । १७ वर्षको उमेर छँदै एक छोराको आमा भैसकेकी थिइन् । दोस्री श्रीमती भएको थाहा पाएपछि लामो समयदेखि श्रीमानबाट छुट्टिएर छोरासँग माइतीमा बस्दै आएकी उनलाई बदलाको भाव र उनको सौन्दर्य बिगार्नका लागि उनकै श्रीमानले एसिड प्रहार गरेका थिए ।
एसिड प्रहारले उनको अधिकांश शरीर र अनुहार जलेको छ । जलेको अनुहार र आफ्नैले दिएको पीडाले कति रात आँसुमै बित्यो । कति रात सुत्न सकिनन् । उनी निन्द्रामा पनि झस्किन्थिन् । तर एकपछि अर्को सहयोगी मनहरूको साथ र आमाले एक सेकेन्ड पनि नछोडी गरेको हेरविचारले उनको मन बदलियो । आमा, छोरा र एसिडपीडितका लागि केही गरेर मर्छु भन्ने आँट बटुलेकी छन् । छोरालाई पढाउने र आफ्नो बीचमा रोकिएको पढाइलाई निरन्तरता दिँदै उनले समाजमा चिनिएकी अनुहार बन्ने सपना बोकेकी छन् ।