काठमाडौं। हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव परेको छ। यसका साथै भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपास रहेको बलियो न्यून चापीय प्रणाली उत्तर-उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टाभित्र क्रमशः कमजोर हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही र कोशी एवम् मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानका साथै कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। तराईतर्फ लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुनसक्छ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरी चल्ने अनुमान गरिएको छ।
यस्तै, शनिबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यतया बदली रहनेछ भने कोशी र मधेश प्रदेशमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षा हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।