काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका अवसरमा वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक पुगेर जात्रा अवलोकन गरेका छन्।
राष्ट्रपति पौडेल न्यूरोडको जुद्ध सालिकबाट पैदलै वसन्तपुरस्थित गद्दी बैठकसम्म पुगेका थिए। वि.सं. २०८० देखि राष्ट्रपति पौडेलले इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध सालिकदेखि गद्दी बैठकसम्म पैदल जाने परम्पराको सुरुआत गरेका हुन्। उनीसँगै समारोहमा सहभागी अन्य विशिष्ट व्यक्तित्वहरू पनि पैदलै गद्दी बैठक पुगेका थिए।

जात्रा अवलोकन कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले, प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीहरू, सांसदहरू, प्रदेशसभा सदस्यहरू, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
गद्दी बैठक पुगेपछि राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला तथा दक्षिणा चढाएर रथयात्रा गराउने अनुमति प्रदान गरेका थिए। राष्ट्रपतिको अनुमतिपश्चात् गणेश, भैरव र कुमारीको रथयात्रा विधिवत् रूपमा सुरु गरिएको हो।
भाद्र शुक्ल द्वादशीका दिन बिहीबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन रहेको छ।