निरन्तर वर्षाका कारण बागमतीमा बाढी: चोभारमा जलसतह उच्च, करिडोर सडक र नदी तटीय क्षेत्रमा डुबानको जोखिम

निरन्तर वर्षाका कारण बागमतीमा बाढी: चोभारमा जलसतह उच्च, करिडोर सडक र नदी तटीय क्षेत्रमा डुबानको जोखिम

काठमाडौं। निरन्तर भइरहेको वर्षाका कारण काठमाडौं उपत्यकाका बागमती र यसका सहायक खोलाहरूमा जलसतह अत्यधिक बढेको छ। उपत्यकाको सम्पूर्ण पानी बाहिरिने मुख्य प्राकृतिक निकास चोभार गल्छीमा बागमती नदी तीव्र वेगका साथ उर्लिएको छ।

बागमती, विष्णुमती, धोबीखोला, मनोहरा लगायत उपत्यकाका साना-ठूला सबै नदी तथा खोलाको बाढी मिसिएर चोभार गल्छी हुँदै बाहिरिने गर्दछ। गल्छीको साँघुरो भू-बनोटका कारण उक्त स्थानमा नदीको बहाव थप भयावह देखिएको छ।

जलसतह निरन्तर उकालो लागेसँगै च्यासल, थापाथली, टेकु, बल्खु तथा सुन्दरीघाट क्षेत्रका करिडोर सडकहरूमा बाढी पस्ने र वरपरका क्षेत्र डुबानमा पर्ने उच्च जोखिम सिर्जना भएको छ। सुरक्षा निकायले बागमती र विष्णुमती करिडोर सडकमा पानी ओभरफ्लो हुन सक्ने भन्दै तटीय मार्ग भएर यात्रा नगर्न र वैकल्पिक सडक प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेका छन्।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय विपद् व्यवस्थापन टोलीले नदी किनारका बस्ती तथा होचा भूभागहरूमा निगरानी र गस्ती तीव्र पारेका छन्।

यसैबीच, मौसम विज्ञान विभागले बागमती जलाधार क्षेत्रमा भारी वर्षा जारी रहेकाले नदीको जलसतह खतराको तह नजिक पुग्न सक्ने चेतावनी दिएको छ। विभागले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र नदी किनारमा नजान आग्रह गरेको छ। बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण उपत्यकासहित देशका विभिन्न भागमा वर्षा अझै केही समय जारी रहने सम्भावना रहेकाले थप सजगता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?