स्वप्नभूमि अस्ट्रेलियाका प्रेरणादायी ३ नेपाली, जसले सपनालाई विपनामा बदले

स्वप्नभूमि अस्ट्रेलियाका प्रेरणादायी ३ नेपाली, जसले सपनालाई विपनामा बदले

मेलबर्न । सपना, अवसर र भविष्यको देश हो, अस्ट्रेलिया । वर्षेनी आँखा चिम्लिएर देखिएका सपना विपनामा पूरा गर्नका लागि आफूले सक्ने र नभ्याए अरुसँग ऋणपान गरेर भए पनि यो देश छिर्न हजारौंको तँछाडमछाड हुन्छ । कतिपय आफ्नो अपूरो सपना पूरा गर्ने होडबाजीमै अल्झेर बस्छन् त कतिपयको भाग्य र परिश्रमबाटै ईश्वर नै दाहिना भैदिन्छन् ।  नेपालजस्तो सानो देशबाट यो स्वप्नभूमिमा आएर जमेका ३ नेपालीको जीवन र संघर्ष ।
 
शेष घले 
शेष घलेको नाम आउनेबित्तिकै झुन्डिएर आउँछ, 'अर्बपति'को ट्यागलाइन ।  तर यो ट्याग पाउन उनलाई त्यति सजिलो पक्कै भएन । निकै दुःख र परिश्रमबाटै उनी अहिले अस्ट्रेलियाको ७८ औं धनी व्यक्तिका रुपमा चिनिन्छन् । नेपाली मूलका मेलबर्न आधारित अस्ट्रेलियाली व्यापारी र गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष हुन्, घले । घले मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का मुख्य लगानीकर्ता र सीइओ हुन् जहाँ नेपाल लगायत थुप्रै मुलुकका विद्यार्थी अध्ययनरत छन् । 

पश्चिम नेपालको एकदमै विकट गाउँबाट सन् १९९० मा अस्ट्रेलिया आएका उनले भिक्टोरिया विश्वविद्यालयबाट मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसनबाट स्नातक गरेका हुन् । घलेले आफ्नो सीप, क्षमता र दुःखलाई सफलताबाट पूर्णविराम लगाइदिए ।  उनी अहिले धेरै युवाहरुको इन्स्पिरेसनको रुपमा छन् ।

चन्द्र योञ्जन 
अस्ट्रेलिया (मेलबर्न)का लागि नेपालको अवैतनिक वाणिज्यदूत हुन्, चन्द्र योञ्जन । अस्ट्रेलियामा बस्ने नेपाली प्रवासीमध्ये उनको नाम सबैभन्दा अग्रपंक्तिमा आउँछ । नेपाली संस्कृतिलाई विदेशमा आएर पनि प्रबर्धन गर्ने उनी मेलबर्नमा रहेको रोयल गोरखाज् टेक्नोलोजीको संस्थापक र सीईओ हुन् । प्रवासमा बस्ने नेपालीलाई सही मार्गदर्शन दिने काम पनि योञ्जनबाट भई नै रहेको छ ।

अस्ट्रेलियामा हुने विभिन्न सामाजिक कार्यमा प्रत्यक्क्ष रुपमा उनी लागिरहेका हुन्छन् ।  ताप्लेजुङ्मा जन्मिएका योञ्जन सन् १९८९ मा ठूलो सपना बोकेर अस्ट्रेलिया छिरेका थिए । आफ्नै पौरख,  मेहनत र लगनशीलताले आज अस्ट्रेलियाजस्तो विशाल देशमा आफ्नो छुट्टै परिचय बनाउन सफल छन् ।

दीपक खड्का 
अस्ट्रेलियाको सिड्नी र क्यानबेरामा रहेको क्राउन इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजीका संस्थापक एवं सीईओ हुन्, खड्का ।  उनको परिचय यतिमै सीमित छैन । उनी अस्ट्रेलिया (न्यु साउथ वेल्स) का लागि नेपालको अवैतनिक वाणिज्यदूत पनि हुन् ।

 

समाजसेवामा निकै अग्रसर उनी अस्ट्रेलियामा रहेका प्रवासी नेपालीको सहयोगमा सदैव खटिने गरेका छन् । दोलखाको जिरीबाट जीवनयात्रा सुरु गरेका उनले अस्ट्रेलियाको यो स्थानसम्म आइपुग्नका लागि निकै संघर्ष गर्नुपरेको थियो ।