काठमाडाैं । पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइकाे सुविधा निर्माणका लागि भारत सरकारले करिब ४ कराेड रुपैयाँ सहयाेग गरेकाे छ ।
सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौं महानगरपालिका र भारतीय दूतावासबीच सहयोग सम्बन्धि संझौता पत्रमा त्रिपक्षीय हस्ताक्षर भएकाे छ ।
जसअनुसार भारतले सफाइका लागि ३ करोड ७२लाख तीस हजार नेपाली रुपैया बराबरको अनुदान सहयोग गरेकाे हाे ।
सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको पशुपति परिसरमा सरसफाई सुविधाकालागि भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अथवा पहिलेको साना विकास परियोजना(एसडिपीज) को रुपमा नेपाल–भारत मैत्रीः विकास साझेदारी अन्तर्गत अनुदान दिइने बताइएको छ ।
यस परियोजनामा सहयोगकालागि पशुपति क्षेत्र विकास कोष (पिएडिटी) ले भारतीय राजदूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा प्रस्ताव पठाएको थियो । पशुपतिनाथ मन्दिरमा आउने तीर्थालु तथा धार्मिक पर्यटकहरुकालागि सरसफाई सुविधा प्रदान गर्न यस परियोजनाको कार्यान्वयन काठमाडौं महानगरपालिकाले नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप गर्ने सहमति भएको छ । सहमति अनुसार १५ महिनामा निर्माण कार्य सम्पन्न गर्नकालागि महानगरपालिकाले बोलकबोल(टेन्डर) प्रक्रियामार्फत ठेकेदारको पहिचान गर्नेछ ।
काठमाडौंको गौशालामा अवस्थित पशुपतिनाथ मन्दिर हिन्दु धर्मावलम्बीहरुकालागि ठूलो आस्थाको केन्द्र हो । दैनिक हजारौंको संख्यामा तीर्थालु भक्तजनको आवागमन हुने यो मन्दिर भारतीयहरुकालागि पनि अत्यन्त महत्व राख्दछ । सन् २०१४ अगस्ट महिनामा दुवै सरकारले सहमति गरेको सरसफाई परियोजना अनुरुप पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक सुविधाहरुको स्तरोन्नतिका लागि भारत सरकारले अनुदान सहयोग दिएको हो ।