रुकुम घटना हत्या नै भएको छानबिन समितिको निष्कर्ष, ३४ जनाविरुद्ध जन्मकैद मुद्दा दर्ता

रुकुम घटना हत्या नै भएको छानबिन समितिको निष्कर्ष, ३४ जनाविरुद्ध जन्मकैद मुद्दा दर्ता

काठमाडौं । पश्चिम रुकुमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनाएको छानबिन समितिले घटनामा निधन भएकाहरूको हत्या नै गरिएको निष्कर्ष निकालेको छ । नृशंस रूपमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनाएको छानबिन समितिले अनुसन्धान सकेर घटनामा ज्यान गुमाएका सबैको हत्या भएको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो । 

समितिका एक सदस्यले समितिले घटनाको स्थलगत अनुसन्धानपछि अवस्थाको विश्लेषण गरेर प्रतिवेदनसमेत तयार गरिसकेको र घटनामा परी ज्यान गुमाएका सबैको हत्या नै भएको पाइएको जानकारी दिए । ‘घटनामा ज्यान गुमाएकाहरूको हत्या नै गरेर भेरीमा फालिएको हाम्रो छानबिनले देखाउँछ, अनुसन्धान सकेर प्रतिवेदन तयार गरिसकेका छौं । निष्कर्ष त्यही हो, प्रतिवेदन सार्वजनिक गर्ने म्यान्डेड भने हामीलाई रहेन,’ समितिका एक सदस्यले भने ।

घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने भन्दै चौतर्फी आवाज उठेपछि गत १३ जेठमा गृहमन्त्री रामबहादुर थापाले गृह मत्रालयका सह–सचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेका थिए । समितिमा प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका एक जना उपसचिव छन् । 

मन्त्रालयले समितिलाई आइतबार नै घटनाको अनुसन्धानका लागि थप एक साताको समय दिएको छ । गत १० जेठमा रुकुम पश्चिम चौरजहारीकी मल्ल थरकी युवतीसँग प्रेमविवाह गर्न जारजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । केटा आएको देख्नेबित्तिकै केटी पक्षले केटा पक्षमाथि ढुंगामुढासहित आक्रमण गरेपछि सोही क्रममा ६ जनाको ज्यान गएको थियो । उनीहरूको शवसमेत बाँधेर फालिएको अवस्थामा भेरी नदीमा फेला परेको थियो । घटनामा परी केही भने घाइते भएका थिए भने केहीले आत्मसमर्पण गरेपछि बाँच्न सफल भएको बताइएको थियो ।

प्रहरीले समेत आइतबार नै घटनामा नवराजसहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सरकारी वकिलको कार्यालयले समेत जिल्ला अदालतमा मुद्दा पेस गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय, रुकुमका अनुसार भाग्दै गरेको समूहलाई योजनाबद्ध रूपमा बाटोमा छेकेर हत्या गरेको अनुसन्धानको निष्कर्ष छ । घटनामा परी निधन भएकाहरूको शव खोज्न सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको थियो । भेरीमा शव बगाएको अवस्थामा सशस्त्रको गोताखोर टोलीले शव फेला पारेको थियो ।

३४ जनाविरुद्ध जन्मकैद मुद्दा दर्ता
रुकुम पश्चिम । रुकुमको चौरजहारीस्थित सोतीमा भएको सामूहिक आक्रमणपछिको हत्या घटनामा प्रहरीले ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारका रूपमा राखिएको छ । बाँकी ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरिएको छ । मुद्दा लागेकामध्ये पाँच जना फरार छन् भने बाँकी सबै पक्राउ परेका छन् ।