काठमाडाैं । सरकारले कोरोना भाइरस संक्रमणको बहाना झिकेर यो वर्ष देशभरका किसानलाई युरिया मलको चरम अभाव व्यहोर्न बाध्य बनाएको छ। आगामी सातादेखि धानबाली रोपाइँ सुरु हुँदै छ।
कुनै न कुनै बहानामा युरिया मलका लागि बर्सेनि सास्ती व्यहोर्न बाध्य हुँदै आएका किसान यस वर्ष कोरोना भाइरसको संक्रमण र लकडाउनको मारमा परेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन्।
कृषि तथा पशुपक्षी मन्त्रालयसँगै सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी र पब्लिक प्राइभेट पार्टनरसिपअन्तर्गतको साल्ट ट्रेडिङ कर्पोरेसनले समेत कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण चाहेर पनि बर्खे धानबालीका लागि किसानलाई युरिया मल उपलब्ध गराउन नसकिने जनाएको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले कोरोना संक्रमणका कारण जलमार्ग र सडकमार्ग अवरुद्धका साथै बन्दरगाहमा लोड÷अनलोड गर्ने र प्याकिङ गर्ने कामदार नपाइएका कारण आउनुपर्ने युरिया निर्धारित समयमा नआउँदा किसानले चर्को अभाव व्यहोर्न पर्ने बताए।
‘साल्टको २१ हजार ५ सय टन युरिया समयमा नआए किसानले ठूलो अभाव व्यहोर्न सक्ने सम्भावना छ,’ प्रवक्ता केसीले भने, ‘उक्त मल झिकाउन भारतीय दूतावासलाई पत्राचार पनि गरेका छौं। तर, कोरोना संक्रमण र लकडाउनका कारण यो मल आउन त्यति सहज देखिएको छैन। ’
यस वर्ष किसानले धानबालीसँगै अहिले सुरु भएको मकै गोड्ने समयमा पनि युरिया मलको चर्को अभाव व्यहोर्न थालेका छन्। कृषि सामग्री र साल्ट ट्रेडिङ कर्पोरेसनसँग भएको युरियाको मौज्दात पनि करिब सकिएको छ।
पहिलो टप ड्रेसिङ (धान रोपाइँ भएको २२ दिन) बाहेक १ लाख १० हजार टन युरिया र ७० हजार टन डीएपी रासायनिक मल आवश्यक पर्छ। तर, मल वितरण गर्ने ती दुवै निकायसँग गरी ९ हजार १ सय ४८ टन मात्रै युरिया मल मौज्दात छ।
यस्तै, १२ हजार ९ सय ७२ टन डीएपी मौज्दात छ। ती दुवै निकायका अनुसार डीएपी अभाव नभए पनि युरिया मलको भने चर्को अभाव सिर्जना हुँदै छ।
दैनिक करिब १ हजार टन युरिया मल बिक्री छ। यसरी हेर्दा मौज्दात रहेको ९ हजार टन करिब ९ दिनमा सकिन्छ। त्यसपछि मल आपूर्ति नभए देशैभर युरिया मलको हाहाकार हुने अवस्था सिर्जना हुन्छ।