रूपन्देही । क्षतिपूर्तिको माग गर्दै तिलोत्तमामा हत्या गरिएका पाँच जनाको शव आफन्तले पोष्टमार्टममा लागि स्वीकृति नदिएपछि मंगलबार पोष्टमार्टम हुन सकेन ।
प्रहरीले शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखेको छ । मृतकका परिवार र आफन्तले घटनास्थलमै क्षतिपूर्तीको माग गर्दै केही समय शव उठाउन अबरोध गरेका थिए ।
स्थानीय जनप्रतिनिधिले क्षतिपूर्तिको व्यवस्था गर्ने प्रतिबद्धता जनाएपछि शव उठाइएको थियो । तर, ढुक्क हुनसक्ने वातावरण नबनेको भन्दै उनीहरुले शव पोष्टमार्टम रोकेका हुन् ।
मृतक पोखराज मुसहरकी भाउजु प्रेमकली मुसहरले क्षतिपूर्ती नदिएसम्म पोष्टमार्टमको कागजमा सही नगर्न आफन्तले भनेको बताइन् । ‘केही नगर्नु भन्नु भएको छ सबैले,’ उनले भनिन्, ‘बाँचेकालाई पाल्न केही त चाहियो नि ।’ कान्तिपुर दैनिकले लेखेको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवा स्थित गंगा पशुपंक्षी फार्ममा सोमबार राति एकै व्यक्तिले ५ जनाको सामुहिक हत्या गरेका थिए ।
प्रहरीले हत्या गरको आशंकामा सुर्खेतको लेकबेशी नगरपालिका–५ नेटा स्थायी बसोबास भइ मैनहवामा बस्दै आएका ३२ वर्षिय झसेन्द्रबहादुर सिंजालीलाई निन्त्रणमा लिएको छ । उनी र मृतक तीनजना एउटै फर्ममा काम गर्ने मजदुर हुन् । अर्का दुई भने साथीसँगै फार्ममा सुत्न गएका बेला मारिएका थिए । मृतक सबैका परिवारको आर्थिक अवस्था विपन्न छ ।
प्रदेश प्रहरीले एसएसपी राजकुमार बैदवारको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेर अनुसन्धान सुरु गरेको छ । पहिलो चरणको अनुसन्धानमा प्रमाण संकलन, सोधपुछ र निगरानीका काम भएको बैदवारले बताए ।
‘हामीले सबै कोणबाट अनुसन्धान सुरु गर्दैछौं,’ उनले भने, ‘सामान्य सोधपुछका क्रममा आरोपित झसेन्द्रले हत्या स्वीकारेको छ ।’
हत्या हुनेमा रूपन्देहीको सैनामैना नगरपालिका–५ दरखासी स्थायी घर भएर ७ वर्षदेखि तिलोत्तमा नगरपालिका–१० मा बस्दै आएका ४० वर्षिय माधव मुसहर, उनकी श्रीमती ३७ वर्षीया जानकी मुसहर, १४ वर्षिय पोखराज मुसहर, १७ वर्षका करन चौधरी र आशिष चौधरी छन् ।
करन, पोखराज र आशिष भने पब्जी खेल्नका लागि जम्मा भएको भन्ने खुलेको प्रहरीले जनाएको छ । उक्त गाईफार्ममा छिमेकीको वाइफाइ टिप्ने भएकाले उनीहरु त्यस रात सँगै थिए ।
इलाका प्रहरी कार्यालय बुटललका प्रहरी नायब उपरिक्षक प्रतीतसिंह राठौरले शवको बुधबारमात्र पोष्टमार्टम हुने बताए ।