चितवन । चितवनमा दुई चिकित्सकसहित २३ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २३ जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ । तीमध्ये १७ जना चितवनका, पाँच जना नवलपरासी पूर्वका र एक जना धादिङका रहेका छन् ।
संक्रमितमध्ये माडी नगरपालिकाका ६ जना भरतपुर महानगरपालिका क्वारेन्टिनमा रहेका ४ जना, भरतपुर महानगरपालिका-४ का १ जना, एनपीआई अस्पतालमा रहेका २ जना, पुरानो मेडिकल कलेजमा रहेका २ जना, चिकित्सक २ जना रहेका छन् । धादिङका संक्रमित गजुरी गाउँपालिकाका हुन् । आइतवार करीव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण बाँकी नै छ ।
यता भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो ।
सुत्केरी भएको आधा घण्टापछि मृत्यु भएकी महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्काले अस्पतालको सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । महिलालाई खोकी लागेको र श्वासप्रश्वासमा पनि समस्या रहेको पाइएको अस्पतालका स्वास्थ्यकर्मीले जनाएका छन् । महिलाको आरडिटी परीक्षणमा कोरोना भाइरस पोजेटिभ आएको थियो ।