काठमाडौं । मलेसियामा गैरकानुनी हैसियतका कामदार राख्न बनाइएका डिपोर्टेसन सेन्टर (घरफिर्ती केन्द्र)मा रहेका ३ नेपालीसहित २२७ जनालाई कोरोना संक्रमण देखिएको छ । मलेसिया अध्यागमन विभागका अनुसार सेमेन्ही, वुकित जलिल र सेपाङस्थित कारागार र डिपोर्टेसन सेन्टरमा राखिएकाहरू संक्रमित भएका हुन् । जसमा ३ नेपाली, ५३ बङ्गलादेशी, ४१ भारतीय, ३८ इन्डोनेसियाली र बाँकी अन्य देशका छन् ।
यससँगै मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ६६ पुगेको छ । यीमध्ये १३ जना निको भइसकेका छन् । मलेसियाले महामारीको समयमा मे १ देखि गैरकानुनी हैसियत भएका कामदारलाई धरपकड गर्न थालेको हो । अधिकारवादीहरूले कोभिड परीक्षण नगरी जथाभावी धरपकड गर्दा संक्रमण बढेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघले समेत महामारीका बीच आप्रवासी कामदारप्रति भेदभाव तथा घृणा फैलाउने काम गरेको भन्दै मलेसियालाई सजग गराइसकेको छ । मलेसियामा गैरकानुनी हैसियतमा झन्डै २५ हजार नेपाली छन् ।