सिरहाका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि

सिरहाका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि

सिरहा । सिरहामा फेला परेका दुई जना कोरोना संक्रमित नेपाल प्रहरी रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सिरहामा थप दुई जना पोजेटिभ फेला परेको जनाएको छ । फेला पर्ने दुबै जना नेपाल प्रहरी हुन् । 

एक जना सिरहा प्रहरी प्रमुखका अंगरक्षक र अर्को एक जना सवारी चालक रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाइँले जानकारी दिएका छन् । उनका अनुसार दुबैलाई आइसोलेसनमा लगिएको छ । योसँगै सिरहामा कोरोना संक्रमितको संख्या ८ पुगेको छ ।

यता दाङमा थप १५ जना र पूर्वी रुकुममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा २ महिला र १६ पुरुषसहित जम्मा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानले निकालेको सूचनामा उल्लेख भएअनसार, दाङको घोराही उपमहानगरपालिका वडानम्बर १८ मा २४, २५, ४० र ४२ वर्षका व्यक्तिमा कोरोना देखिएको छ ।

यस्तै, लमही नगरपालिका वडानम्बर १, २, ४, ५ र ६ नम्बर वडाका नागरिकमा पनि कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । उनीहरु लमहीकै क्वारेन्टाइनमा छन् । यसैगरी पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका वडानम्बर १४मा १५, १८, २३ वर्षका पुरुष तथा १५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको प्रतिष्ठानको सूचनामा उल्लेख छ ।