काठमाडौं : कोरोना (कोभिड–१९) को महामारीका वेला सर्वसाधारणको उपचारमा खटिएका तीन जना डाक्टर ड्युटी सकेर घर फर्किँदै गर्दा प्रहरीले हातपात गरेको भन्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुले विरोध गरेका छन् ।
ड्यूटी सकेर फर्किने क्रममा त्रिवि शिक्षण अस्पताल (आईओएम) मा कार्यरत चिकित्सकमाथि महाराजगञ्जको कान्ती अस्पताल पछाडि ओरालोमा बुधबार बेलुका प्रहरीले हातपात र लाठी चार्ज गरेको विज्ञप्ति जारी गरेको हो।
मेडिसिन डिपार्टमेन्टमा कार्यरत चिकित्सकहरुलाई प्रहरीले दुर्व्यवहार गरेको नेशनल रेसिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा. अनुप सुवेदीले बताए । परिचयपत्र देखाउँदा र अस्पतालबाट फर्केको अवगत गराउँदासमेत दुर्व्यवहार गर्ने प्रहरीलाई छानबिनको दायरामा ल्याउन र कारबाही प्रक्रिया अगाडि बढाउन एसोसिएसनले माग गरेको छ । अन्यथा कडा कदम चाल्न बाध्य हुने एसोसिएसनले चेतावनी दिएको छ ।
मेट्रोले बनायो छानविन समिति
संघले विज्ञप्ति जारी गरेर घटना बाहिर ल्याएपछि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले छानविन समिति बनाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यको नेतृत्वमा रहेको छानविन समितिमा महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रहरी उपरीक्षक (एसपी) मुकेश सिंह र महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी सदस्य छन् ।
समितिलाई घटनाको यथार्थ बुझेर यथाशिघ्र प्रतिवेदन पेश गर्न भनिएको रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले अनलाइनखबरलाई बताए ।