नारायणगढ। नारायणी नदीमा आइतबार (आज) हालसम्मकै उच्च जलसतह मापन गरिएको छ। देवघाटस्थित जलमापन केन्द्रका अनुसार दिउँसो २:१० बजे नदीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको हो, जुन सन् १९६३ देखि जलमापन सुरु गरिएयताकै सबैभन्दा धेरै हो।
जल तथा मौसम विज्ञान विभाग र नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका अनुसार यसअघि विसं २०८१ असोज १२ गते नदीमा ११ दशमलव छ मिटर जलसतह पुगेर रेकर्ड बनेको थियो।
देवघाटमा सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ मिटरलाई खतराको तह मानिन्छ। दिउँसो ३:४० बजेको मापनमा जलसतह केही घटेर ११ दशमलव ७५ मिटरमा झरेको भए पनि यो अझै खतराको तहभन्दा निकै माथि छ।
नारायणी बेसिन फिल्ड कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इन्जिनियर सुमित अधिकारीले पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीको बहावमा अझै उतारचढाव आउन सक्ने बताउनुभएको छ।
कार्यालयको अभिलेखअनुसार यसअघिका वर्षहरूमा नारायणी नदीमा देहायबमोजिम उच्चतम जलसतह मापन गरिएको थियो:
-
विसं २०८१ असोज १२: ११.६ मिटर
-
विसं २०७८ असार २: १०.५० मिटर
-
विसं २०७९ असोज २०: ९.५२ मिटर
-
विसं २०८० साउन २९: ८.३३ मिटर
तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।