एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १९ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् । भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा उनले आज विशेष सम्बोधन गर्दै ३ मे (वैशाख २१) सम्म लकडाउन लम्ब्याएको घोषणा गरेका हुन् ।
गत २४ मार्चमा घोषणा गरिएको पहिलो चरणको लकडाउन बुधबार सकिँदैछ। उक्त तीन साता लामो लकडाउन सकिनुअघि नै दोस्रो चरणको १९ दिने लकडाउनको घोषणा गरिएको हो। ‘लकडाउनका कारण जनताको अप्ठ्यारा कसरी सम्बोधन गर्ने? लकडाउनलाई निरन्तरता दिने नदिनेलगायतका विषयमा राज्यहरुसँग निरन्तर छलफल गरियो। यो छलफलमा सबैको एउटा सुझाव रह्यो लकडाउनलाई बढाउनुपर्छ। सबै सुझावहरुलाई ध्यानमा राख्दै भारतमा लकडाउनलाई ३ मेसम्म बढाउने निर्णय गरिएको छ,’ मोदीले आफ्नो सम्बोधनमा भने।
त्यसैगरी मोदीले दोस्रो चरणको लकडाउनमा केही खुकुलो हुने संकेत गरेका छन्। उनले आगामी एक साताको अवस्थालाई विश्लेषण गर्दै स्थानीयस्तरमा लकडाउनलाई खुकुलो बनाउने र नबनाउने निर्णय लिइने पनि बताएका छन्। ‘२० अप्रिलसम्म हर जिल्ला, हल टोल, हर राज्यलाई नजिकबाट हेरिनेछ। लकडाउनको पालना कसरी पालना गरिएको छ? कोरोनाबाट कसरी ती क्षेत्रलाई बचाइएको छ? त्यसको आधारमा निर्णय लिइनेछ’ मोदीले भनेका छन्। केही हप्ता अघि भारत जत्तिकै संक्रमित संख्या भएका देशहरुमा हजारौं हजार संक्रमित भइसकेको पनि उल्लेख गरे ।