लकडाउनमा रेडियो अडियो कक्षा

लकडाउनमा रेडियो अडियो कक्षा

जुम्ला : विश्वभर फैलिँदो कोरोना भाइरस फैलन नदिन गरिएको लकडाउन (बन्दाबन्दी)का कारण यतिबेला देशभरीका शैक्षिक संस्था बन्द छन् । माध्यमिक शिक्षा परीक्षा (एसइई)को अन्तिम तयारी भएको अवस्थामा यही चैत ५ गते सरकारले स्थगन ग¥यो । लकडाउन समयावधि लम्बिँदै गएपछि रेडियो खुला आकाश ९९ दशमलव ६ मेगाहर्ज जुम्लाले २६ चैतदेखि सुनापढी नामक रेडियो अडियो कक्षा शुरु गरेको छ ।

एसइई परीक्षा पर्खाइमा रहेका विद्यार्थी र आधारभूत तहका बालबालिकालाई लक्षित गरी रेडियो अडियो कक्षा शुरु गरिएको हो । एसइई विषेश रेडियो कक्षामा अङ्ग्रेजी, गणीत, विज्ञान, नेपाली र सामाजिक विषय समेटिएको रेडियो प्रबन्धक रतन नेपालीले बताउनुभयो । “बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हरेक दिन कक्षा सञ्चालन गर्ने योजना बनाइएको छ”, उहाँले भन्नुभयो । रेडियो अडियो कक्षालाई सामाजिक सञ्जाल (फेसबुक)मार्फत अनलाइन पनि गर्ने गरेको छ । विषयगत शिक्षकलाई रेडियोमा ल्याएर रेडियो अडियो कक्षा सञ्चालन गरिएको हो ।

बेलुका ५ देखि ६ बजेसम्म प्रावि तहका बालबालिकालाई लक्षित गरी रेडियो अडियो कक्षा शुरु भएको हो । लकडाउनका कारण प्रभावित भएका शैक्षिक वातावरणमा रेडियो कक्षाले ठूलो राहत मिलेको विद्यार्थी विशाल थापाले बताउनुभयो । चन्दननाथ नगरपालिका–८ का भक्त धरलाले रेडियो कक्षा अर्को विद्यालय बनेर आएको बताउनुभयो । लकलाडउनले शैक्षिक संस्था बन्द हुँदा पठनपाठन प्रभावित भएका बालबालिकालाई सहज भएको उहाँको भनाइ छ । घर रेडियो खोलेर बालबालिकालाई पठनपाठन गर्ने वातावरण मिलेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउनको नीति अपनाएपछि विद्यार्थीलाई पुनःर्ताजगी गराउन अनलाइन कक्षाको शुरुआत गरेको जनाएको छ । “लकडाउन अवधिसम्म विद्यार्थीले पढेको भुल्ने, घरमै बस्दा दिक्क मान्ने समस्या थियो”, उहाँले भन्नुभयो, “नियमित पढाइदेखि परीक्षाको तयारी गर्नलाई यसले सहज बनाएको छ ।” विद्यार्थी क्रमशः रेडियो सुन्ने सङ्ख्यामा वृद्धि हँुदै गएको रेडियो खुला आकाश जुम्लाले जनाएको छ ।