सुर्खेत — जाजरकोटस्थित भेरी नदीमा पानीको बहाव बढेपछि नदीको बीच टापुमा फसेका चार जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको छ। आइतबार दिउँसो भेरी नदीमा बगेर आएको दाउरा निकाल्न जाजरकोटको भेरी नगरपालिका–१३ कुदु पुगेका उनीहरू नदीमा एकाएक पानीको सतह बढेपछि बीच टापुमै थुनिएका थिए।
उद्धार गरिएकाहरूमा भेरी नगरपालिका–१३ कुदुका ३२ वर्षीय नन्दलाल विक, ४१ वर्षीय खिमबहादुर गिरी, ३४ वर्षीय विशाल सुनार र ३२ वर्षीय धनबहादुर सिंह ठकुरी रहेका छन्। प्रारम्भिक खबरमा उनीहरू गाई चराउन गएको भनिए पनि उद्धारमा खटिएको सुरक्षा टोलीले बुझ्दा दाउरा सङ्कलन गर्न नदी किनार पुगेको खुलेको प्रहरीले जनाएको छ।
स्थानीय टापुमा फसेको खबर पाउनेबित्तिकै प्रमुख जिल्ला अधिकारी नवराज बरालको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी ३६ जनाको टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ खटिएको थियो।
प्रहरी चौकी कुदु, जिल्ला प्रहरी कार्यालय जाजरकोट (प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीको कमाण्डमा), सशस्त्र प्रहरी बल जाजरकोट (सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा) र भवानी दल गण (प्रमुख सेनानी गोविन्द थापाको कमाण्डमा) को टोली संयुक्त रूपमा उद्धारमा जुटेकै अवस्थामा हवाई उद्धारका लागि डोल्पाबाट नेपाली सेनाको हेलिकोप्टर झिकाइएको थियो।
आइतबार साँझ करिब ६:२० बजे सेनाको हेलिकोप्टरले टापुबाट चारै जनालाई उद्धार गरी सकुशल घर फर्काएको छ। उद्धारमा प्रयोग भएको हेलिकोप्टर सुर्खेत फर्किएको प्रहरीले जानकारी दिएको छ।