कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

ललितपुर । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार (कात्तिक १ गते) प्रेस विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।

नेपाली कांग्रेसले संस्थापक नेता बीपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि सुरु गर्नुभएको चियापान कार्यक्रमलाई विशेष परिस्थितिबाहेक हरेक वर्ष निरन्तरता दिँदै आएको थियो ।

कांग्रेसले यस कार्यक्रमलाई शुभकामना आदानप्रदान, आपसी सद्भाव र राजनीतिक दलहरूबीच संवादको अवसरका रूपमा आयोजना गर्दै आएको थियो । तर यस वर्ष देश शोकमा रहेकाले परम्परागत कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।