कागजी बाकसदेखि इमोजीसम्म: अमेरिकी संस्कृतिमा चिनियाँ टेकआउट कार्टनको कथा

कागजी बाकसदेखि इमोजीसम्म: अमेरिकी संस्कृतिमा चिनियाँ टेकआउट कार्टनको कथा

काठमाडौं। चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो कार्टन अमेरिकामा चिनियाँ खानाको पर्याय बनेको छ। एकै टुक्रा कागज मोडेर बनाइने यो बाकसको इतिहास अमेरिकी आविष्कार, चिनियाँ आप्रवासन र खानपान संस्कृतिसँग जोडिएको छ।

यसको सुरुवात सन् १८९४ मा आविष्कारक फ्रेडरिक वीक्स विल्कोक्सले माछा मार्दा सीप (ओइस्टर) बोक्ने कागजी बाल्टिनको पेटेन्ट लिएपछि भएको थियो। कागजलाई विशेष तरिकाले मोडेर बनाइने यस बाकसले खाना नचुहिने र सहजै ढक्कन लगाउन मिल्ने सुविधा दिन्थ्यो।

सन् १८०० को मध्यतिर सुनको खोजी र रेलमार्ग निर्माणका लागि चिनियाँ आप्रवासीहरू अमेरिका पुगेका थिए। उनीहरूले बसोबास गरेका सान फ्रान्सिस्कोलगायतका सहरमा विकसित चाइनाटाउनका रेस्टुरेन्टहरूले चिनियाँ खानाको अमेरिकी शैली स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेले।

नर्थ क्यारोलाइना विश्वविद्यालयकी चिनियाँ इतिहासकी प्राध्यापक मिशेल किङका अनुसार दोस्रो विश्वयुद्धपछि अमेरिकामा चिनियाँ रेस्टुरेन्ट र परिकारको विविधता उल्लेख्य रूपमा बढ्यो। चिनियाँ खानाको सस्तो मूल्य, सहज उपलब्धता र घर लैजान मिल्ने सुविधाले पनि यसको लोकप्रियता बढाएको उनले बताए।

सन् १९७० को दशकतिर ‘फोल्ड–पाक’ नामक प्याकेजिङ कम्पनीले यस कार्टनमा चिनियाँ शैलीको प्यागोडाको चित्र थप्यो। यसले कार्टनलाई चिनियाँ खानासँग जोडिएको विशिष्ट पहिचान दियो। किङले यसलाई इटालियन खानासँग जोडिने पिज्जा बक्ससँग तुलना गर्दै यस्तो प्याकेजिङले चिनियाँ-अमेरिकी खानाको छुट्टै छवि बनाउन मद्दत गरेको बताए।

अहिले यस्ता कार्टनहरू विभिन्न आकारमा उपलब्ध छन् र तिनमा राखिने परिकारको दायरा पनि फराकिलो भएको छ। खाना प्याक गर्ने माध्यममा मात्र सीमित नरहेर यसको पहिचान मोबाइल फोनमा ‘टेकआउट’ जनाउने इमोजीसम्म पुगेको छ। यसले एउटा सामान्य कागजी बाकस कसरी अमेरिकी लोकप्रिय संस्कृतिको प्रतीक बन्न पुग्यो भन्ने देखाउँछ।