काठमाडौँ। टेस्ला कम्पनीका प्रमुख तथा विश्वका धनाढ्य खर्बपति एलोन मस्कले लामो समयदेखि प्रतिक्षित 'टेस्ला रोडस्टर' (Tesla Roadster) को स्टन्ट र उडान भिडियो सार्वजनिक गर्दै उड्ने कारको प्रविधि प्रदर्शन गरेका छन्। सामाजिक सञ्जाल 'एक्स' (साविकको ट्विटर) मार्फत मस्कले उक्त गाडीको उडान र विभिन्न कलाबाजी समेटिएको भिडियो सेयर गरेका हुन्।
बिहीबार राति सार्वजनिक गरिएको भिडियोमा टेस्ला रोडस्टरले हावामा उडान भरेर सुरक्षित रूपमा जमिनमा अवतरण गरेको दृश्य देखाइएको छ। स्पेसएक्स (SpaceX) को रकेट प्रविधिमा आधारित कोल्ड-ग्यास थ्रस्टर (Cold-gas thrusters) को सहयोगमा उक्त गाडीले हावामा विभिन्न कलाबाजी देखाएको, ठाडो भित्तामा चढेको र अन्य टेस्ला गाडीहरूमाथिबाट उडान भरी एक फन्को मारेर सहजै अवतरण गरेको देखिन्छ।
भिडियो सार्वजनिक गर्दै मस्कले 'अन्ततः भविष्यमा उड्ने कारहरू पनि हुनेछन्' (Turns out the future does have flying cars) भन्दै खुसी व्यक्त गरेका छन्। टेस्लाका अनुसार स्पेसएक्स र टेस्लाको संयुक्त प्राविधिक सहकार्यमा निर्माण भइरहेको यो गाडीको उत्पादन सन् २०२८ सम्ममा सुरु गर्ने लक्ष्य राखिएको छ।
अमेरिकी सञ्चार माध्यमहरूका अनुसार यो अत्याधुनिक 'रोडस्टर' गाडी खरिद गर्न चाहने ग्राहकका लागि टेस्लाको आधिकारिक वेबसाइटमार्फत ५ हजार अमेरिकी डलर अग्रिम भुक्तानी (Advance Payment) गरी बुकिङ खुला गरिएको छ।