होक्काइदोको दशौँ शाखा सौराहामा विस्तार: आज साँझ निःशुल्क जापानी खाना स्वाद परीक्षण कार्यक्रम

होक्काइदोको दशौँ शाखा सौराहामा विस्तार: आज साँझ निःशुल्क जापानी खाना स्वाद परीक्षण कार्यक्रम

सौराहा। सन् २०१९ मा नेपालमा स्थापना भएको होक्काइदो समूहले आफ्नो सात वर्षको यात्रा पूरा गर्दै सौराहामा दशौँ शाखाका रूपमा होक्काइदो रामेन हाउस सञ्चालनमा ल्याएको छ। काठमाडौँ र पोखरापछि पर्यटकीय नगरी सौराहामा प्रवेश गरेको यस समूहले जापानी खानपानको अनुभव दिलाउनुका साथै स्थानीय रोजगारी, सीप विकास र पर्यटन प्रवर्धनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

शाखा विस्तारको अवसरमा आज शुक्रबार, १६ अक्टोबरका दिन साँझ ५ बजेदेखि ७ बजेसम्म निःशुल्क जापानी खाना स्वाद परीक्षण तथा सुझाव आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ। अपराह्न ४ बजेदेखि अतिथिहरूको स्वागत गरिने र सो अवसरमा गैरमादक पेय पदार्थहरू मात्र उपलब्ध गराइने जनाइएको छ। स्थानीय होटल तथा रेस्टुरेन्ट सञ्चालक, पर्यटनकर्मी तथा सञ्चारकर्मीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमबाट प्राप्त रचनात्मक सुझावका आधारमा दसैँपछि चरणबद्ध रूपमा नियमित सेवा सुरु गर्ने तयारी रेस्टुरेन्टले गरेको छ।

जापानी खाद्य संस्कृतिको मौलिकता र गुणस्तर कायम राख्दै नेपालमै उपलब्ध सामग्रीहरूको प्रयोग बढाउने लक्ष्य होक्काइदो समूहले लिएको छ। हाल दुई सयभन्दा बढी जनशक्तिलाई रोजगारी दिइरहेको यस समूहमा करिब ९७ प्रतिशत ग्राहक नेपाली नै रहेका छन्। सौराहाका स्थानीय दिदीबहिनी तथा दाजुभाइका साथै वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई आफ्नै ठाउँमा सीप प्रयोग गर्ने अवसर दिलाउने उद्देश्य राखिएको होक्काइदो समूहका संस्थापक तथा अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए।

सौराहाको प्राकृतिक सम्पदा र थारू समुदायको समृद्ध संस्कृतिप्रति सम्मान व्यक्त गर्दै होक्काइदोले स्थानीय समुदायसँग दीर्घकालीन सहकार्य गर्ने योजना बनाएको छ। पर्यटकहरूका लागि जङ्गल सफारीमा लैजान मिल्ने जापानी बेन्तो अर्थात् प्याक खाना, स्थानीय थारू खानपान र सामग्रीबाट नयाँ परिकार विकास गर्ने सम्भावनाबारे समेत अध्ययन भइरहेको अध्यक्ष अधिकारीले उल्लेख गरे।

होक्काइदो समूहले आजको स्वाद परीक्षण कार्यक्रममा सहभागी भई खानाको स्वाद लिन, टोलीसँग संवाद गर्न र आवश्यक सुझाव प्रदान गरी स्थानीय रोजगारी र पर्यटन सहकार्यको प्रयासलाई समुदायसम्म पुर्‍याउन सञ्चारकर्मीहरूलाई विशेष अनुरोध गरेको छ।