नेपालमै हरित युरिया उद्योग स्थापना गर्ने तयारी: सरकारले माग्यो विस्तृत प्रस्ताव

नेपालमै हरित युरिया उद्योग स्थापना गर्ने तयारी: सरकारले माग्यो विस्तृत प्रस्ताव

काठमाडौँ । नेपाल सरकारले देशभित्रै व्यावसायिक रूपमा हरित युरिया मल उत्पादन गर्ने उद्योग स्थापनाका लागि औपचारिक प्रक्रिया अघि बढाएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन उत्पादन क्षमता रहने गरी हरित युरिया प्लान्ट स्थापना गर्नका लागि विस्तृत अवधारणा तथा कार्यान्वयन ढाँचा (Concept and Implementation Framework) माग गर्दै प्रस्ताव आह्वान गरेको हो।

मन्त्रालयले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य कम्पनी, संयुक्त लगानीकर्ता (Joint Venture) र कन्सोर्टियमहरूबाट प्रस्ताव माग गरेको जनाएको छ। सूचना अनुसार स्थापना हुने उक्त व्यावसायिक प्लान्टको क्षमता भविष्यको आवश्यकतालाई ध्यानमा राखेर बढाउन सकिने (Scalable) प्रकृतिको हुनुपर्नेछ।

प्रस्तावित प्लान्टले हरित हाइड्रोजन उत्पादन, नाइट्रोजन उत्पादन, अमोनिया सिन्थेसिस, औद्योगिक कार्बन क्याप्चर तथा युरिया सिन्थेसिस जस्ता समग्र प्रविधिलाई समेट्नुपर्ने सर्त मन्त्रालयले अघि सारेको छ।

मन्त्रालयका अनुसार प्राप्त प्रस्तावहरूको विस्तृत मूल्याङ्कनपछि नेपालमा मल कारखाना स्थापनाका लागि उपयुक्त प्रविधि, लगानीको ढाँचा, प्राविधिक चुनौती, आर्थिक सम्भाव्यता र सरकारले उपलब्ध गराउनुपर्ने सहुलियतका सम्बन्धमा आवश्यक स्पष्टता प्राप्त हुनेछ।

इच्छुक कम्पनी तथा सम्भावित लगानीकर्ताहरूले मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत अवधारणा तथा कार्यान्वयन ढाँचासँग सम्बन्धित कागजातहरू डाउनलोड गरी आवेदन दिन सक्नेछन्।