काठमाडाैं। नेपाल टेलिकमले आफ्ना एफटीटीएच अर्थात् एनटी फाइबर ग्राहकहरूका लागि वाई-फाई ६ मा आधारित नयाँ र सुलभ प्याकेजहरू सञ्चालनमा ल्याउने भएको छ।
नेपाल टेलिकमद्वारा जारी विज्ञप्ति अनुसार "WiFi 6 Individual Package" अन्तर्गत १०० एमबीपीएसको वार्षिक प्याकेज ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको प्याकेज १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेज १६ हजार ४९९ रुपैयाँमा उपलब्ध गराइनेछ। यी वार्षिक प्याकेज लिने ग्राहकहरूले थप सुविधास्वरूप ८०० देखि १००० एमबीसम्मको मोबाइल डाटासमेत प्राप्त गर्नेछन्।
यसका साथै टेलिकमले ३० एमबीपीएसको नयाँ वार्षिक प्याकेज मात्र ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउने जनाएको छ। १२ महिनाको समयावधि रहने यी सबै प्याकेजहरू जडान गर्दा लाग्ने ५०० रुपैयाँ जडान शुल्क पूर्ण रूपमा मिनाहा गरिएको छ। टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार यी सबै नयाँ अफरहरू २०८३ असोज ३० गतेदेखि लागू हुनेछन्।