काठमाडौँ । अमेरिकाको ओरेगन राज्यको बेन्ड सहरस्थित एउटा प्राथमिक विद्यालयमा बिहीबार भएको गोलीकाण्डमा तीन बालबालिका र एक शिक्षकको मृत्यु भएको छ । घटनामा एक बालक र शिक्षक घाइते छन् । प्रहरीले १६ वर्षीय आक्रमणकारी पनि मारिएको जनाएको छ ।
मृत्यु हुने बालबालिका पाँच, आठ र ११ वर्षका छन् । घाइतेहरूलाई उपचारका निम्ति अस्पताल लगिएको बेन्डका प्रहरी प्रमुख माइक क्रान्ट्जले बताए । स्थानीय समयानुसार दिउँसो करिब १ बजे सिल्भर रेल प्राथमिक विद्यालयबाहिर गाडीमा रहेका व्यक्तिमाथि लामो बन्दुक बोकेका आक्रमणकारीले गोली चलाएका थिए । सूचना पाएको केही मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो ।
गोलीकाण्डपछि प्रहरीले विद्यार्थीलाई बसमार्फत सुरक्षित स्थानमा पुर्याई अभिभावकसँग पुनर्मिलन गराएको थियो । विद्यालयमा शिशु कक्षादेखि कक्षा–५ सम्मका करिब ४५० विद्यार्थी अध्ययनरत छन् ।अमेरिकामा बन्दुकको सहज उपलब्धता र बारम्बार हुने गोलीकाण्डका कारण हरेक वर्ष ठूलो संख्यामा मानिसको ज्यान जाने गरेको छ ।