दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक नेपालमा प्रत्येक जातजातिका आ–आफ्नै परम्परा भए पनि यस पर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुद बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

बडादसैँले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न मद्दत पुर्‍याएको उनको भनाइ छ।

विजया दशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन स्मरण गराउँदै उनले दसैँ अन्यायमाथि न्यायको एवम् असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा मनाइने उल्लेख गरे।

दशैंमा पारिवारिक जमघट तथा पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरिने भएकाले यसको पारिवारिक, सामाजिक, धार्मिक, साँस्कृतिक एवम् राष्ट्रियताका हिसाबले अत्यन्तै महत्व रहेको उनले बताए।

यसैबीच, देशका विभिन्न भागमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। राष्ट्रपति पौडेलले बाढी प्रभावित व्यक्तिहरूको पुनःस्थापनाका लागि एकताबद्ध भएर अघि बढ्न सबै पक्षलाई अपिलसमेत गरे।