काठमाडाैँ । सरकारले गोरखा, धादिङ र बागलुङका विभिन्न स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले बूढीगण्डकी र कालीगण्डकीमा आएको बाढीले क्षतिग्रस्त विभिन्न स्थानलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।
गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकाको वडा नम्बर १ र २ र वागलुङका थप दुई वटा स्थानीय तह गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई ३ महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
बैठकका निर्णयहरु सुनाउँदै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले उक्त स्थानीय तहका क्षतिग्रस्त निजी आवासका प्रभावित परिवारहरुले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोवास व्यवस्था गर्न चाहेमा ६ महिना आर्थिक सहायता गर्ने निर्णय पनि गरेको छ।
तत्काल राहत स्वरुप बसोवास र जीविकोपार्जनका लागि चार जनासम्मको सदस्य संख्या भएका परिवारलाई प्रति परिवार प्रतिमहिना १५ हजार रुपैयाँ र सोभन्दा बढी सदस्य भएको परिवारको लागि प्रति सदस्य थप २ हजार प्रतिमहिना प्रदान गर्ने निर्णय गरेको बताए।
यसरी संकटग्रस्त क्षेत्र घोषणा गरिसकेपछि प्रक्रियागत जटिलताहरुलाई मिलाएर छिटो छरितो रुपमा काम गर्नको लागि सहजता हुने उनले बताए।