काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कुनै पनि व्यक्ति हुन नसक्ने स्पष्ट पारेका छन्। शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहमा बोल्दै उनले यदि नेतृत्वमा रहँदा आफूबाट गल्ती वा कमजोरी भए पार्टीले आफूलाई सभापति पदबाट हटाएर अघि बढ्नुपर्ने बताएका हुन्।
थापाका अनुसार व्यक्तिका गलत कामको जिम्मेवारी सिङ्गो पार्टीले बोक्न सक्दैन। उनले सभापतिको जिम्मेवारी सम्हाल्दै गर्दा आफ्नो व्यक्तिगत, पारिवारिक तथा आर्थिक जीवनका हरेक पक्षमा पूर्ण रूपमा जिम्मेवार र सचेत रहने प्रतिबद्धता समेत व्यक्त गरे।
नेपाली कांग्रेस लाखौँ नेता तथा कार्यकर्ताहरूको त्याग, योगदान, रगत र पसिनाबाट निर्माण भएको सार्वजनिक सम्पत्ति भएकाले कुनै व्यक्तिको गल्तीका कारण संस्थाले क्षति बेहोर्न नहुने उनको तर्क थियो। नेतृत्वको कमजोरीको भार पार्टीले बोक्दा सिङ्गो संस्था नै कमजोर हुने भएकाले त्यस्तो स्थिति आउन नदिने उनले बताए।
‘सभापति हुँदै गर्दा मेरो व्यक्तिगत, पारिवारिक र आर्थिक जीवनप्रति म सचेत रहनुपर्छ भन्ने मैले बुझेको छु। मेरा गलत कामले पार्टीलाई असर पर्नु हुँदैन। यदि कुनै दिन म चुकेको महसुस भएमा कांग्रेसले मलाई सभापतिबाट अलग गरेर अघि बढ्नुपर्छ, किनकि व्यक्ति कहिल्यै पार्टीभन्दा ठूलो हुँदैन,’ थापाले भने।
यस्तै, देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले दसैँको फूलपातीका दिनमा समेत हजारौँ युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिन बाध्य हुनु दुःखद भएको बताए। युवाहरूलाई स्वदेशमै सम्मान र स्वाभिमानका साथ जिउने वातावरण बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाइ थियो।
रातारात परिवर्तन सम्भव नभए पनि देशमै रोजगारी र अवसरहरू सिर्जना गर्न नेपाली कांग्रेसले इमानदार प्रयास थाल्नुपर्नेमा उनले जोड दिए। साथै, पार्टीभित्रका असन्तुष्टिहरूलाई सम्बोधन गर्दै सबै पक्षलाई समेटेर अघि बढाउने जिम्मेवारी आफूले लिने प्रतिबद्धता समेत सभापति थापाले जनाएका छन्।