पेरिस। जीवनयापनको बढ्दो लागत र महँगीविरुद्ध फ्रान्सभर शनिबार राष्ट्रव्यापी विरोध प्रदर्शन सुरु भएका छन्। राष्ट्रपति इम्यानुएल म्याक्रोनको उत्तराधिकारी चयनका लागि आगामी अप्रिल र मे महिनामा दुई चरणमा राष्ट्रपतीय निर्वाचन हुँदैछ।
निर्वाचन नजिकिँदै गर्दा आयोजित यी प्रदर्शनलाई देशको सामाजिक तथा राजनीतिक अवस्थाको महत्वपूर्ण सङ्केतका रूपमा हेरिएको छ। यसअघि राम्रो शैक्षिक वातावरण र पर्याप्त स्रोतसाधनको माग गर्दै विद्यार्थीहरूले विभिन्न स्थानमा प्रदर्शन गरेका थिए भने केही प्रदर्शन हिंसात्मक झडपमा परिणत भएपछि अधिकारवादी समूहहरूले प्रहरीको बल प्रयोगको आलोचना गरेका छन्।
पेरिसमा मुख्य प्रदर्शन दिउँसो २ः०० बजे रिपब्लिक स्क्वायरबाट सुरु हुने तय गरिएको थियो। आठ वर्षअघि इन्धन कर वृद्धिको विरोधमा सुरु भएको ‘येलो भेस्ट’ आन्दोलनले यसपटक ‘येलो एन्ड युथ’ प्रदर्शनको आह्वान गरेको हो।
आयोजकहरूले शिक्षक, विद्यार्थी, मजदुर, पेन्सनभोगी र किसानलाई आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन्। एएफपीका संवाददाताका अनुसार, शनिबार बिहानैदेखि देशका विभिन्न स्थानमा प्रदर्शन सुरु भएका थिए।
पश्चिमी सहर रेनेसमा करिब २० जनाले सपिङ मलनजिक फोहरका डब्बा र काठका प्यालेट प्रयोग गरी अवरोध खडा गरेका थिए।ेलो भेस्ट आन्दोलनका पूर्वसहभागी ४७ वर्षीय सिकर्मी क्रिस्टोफले किशोरकिशोरीमाथि प्रहरीले गरेको दमनप्रति आक्रोश व्यक्त गर्दै भन्नुभयो, “हामी यस्तो अवस्थामा पुगेका छौँ, जहाँ दमनको निशाना हाम्रै छोराछोरी बनेका छन्।”
प्रहरीसँग झडप र विभिन्न स्थानमा तोडफोड
दक्षिणी सहर मार्सेमा केही प्रदर्शनकारीले प्रहरी भवनमा आक्रमण गरेका थिए। प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीले फोहोरका डब्बा र स्कुटर प्रयोग गरी केही समय मुख्य सडक अवरुद्ध पारे पनि प्रहरीले पछि अवरोध हटाएको थियो। प्रदर्शनकारी विद्यार्थी ओडले शिक्षा क्षेत्रमा पर्याप्त स्रोतसाधनको अभाव र प्रहरी दमनविरुद्ध आफूहरू सडकमा उत्रिएको बताएकी छिन्।
पेरिसमा प्रहरीले बिहानै करिब ६० जनालाई नियन्त्रणमा लिएको एएफपीका संवाददाताले जनाएका छन्। त्यस्तै, अनुहार छोपेका प्रदर्शनकारीले दक्षिणपन्थी टेलिभिजन संस्था ‘सी–न्युज’को मुख्यालयमा वस्तु प्रहार गर्दै झ्यालका सिसा फुटाएका थिए।
आयोजकहरूको वेबसाइटअनुसार, देशभर ६०० भन्दाबढी प्रदर्शन आयोजना गर्ने योजना थियो। यसै महिनाको सुरुमा गरिएको सर्वेक्षणमा करिब ४५ प्रतिशत फ्रान्सेली नागरिकले जीवनयापनको खर्च र मुद्रास्फीतिलाई प्रमुख चिन्ताका रूपमा लिएको पाइएको थियो।
राष्ट्रपति म्याक्रोनले शुक्रबार शान्ति र सम्मान कायम राख्न आग्रह गर्दै प्रदर्शनको अधिकारसँगै व्यक्ति र सम्पत्तिको सम्मान गर्नुपर्ने बताएका छन्।
यसैबीच, वामपन्थी दल ‘फ्रान्स अनबाउड’का नेता जाँ–लुक मेलाँसोंले विद्यार्थी आन्दोलनलाई समर्थन गरेका छन्। राष्ट्रपतीय निर्वाचनका जनमत सर्वेक्षणमा अग्रस्थानमा रहेकी दक्षिणपन्थी नेतृ मरिन ले पेनले भने आफ्नो दल ‘नेसनल ¥याली’लाई प्रहरीको समर्थनमा उभ्याएकी छिन्।