जनकपुरधाम। मधेश प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयलाई लिएर नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरूबीच छलफल भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूले भेटवार्ता गरेका छन्। उक्त छलफलमा जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवसमेत सहभागी थिए।
जसपा नेपालकै नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि नयाँ गठबन्धन बनाउने प्रयास भइरहेको एक नेताले जानकारी दिएका छन्। यसअघि गत शुक्रबार मात्रै नेकपा एमालेले नेपाली कांग्रेसको नेतृत्वमा रहेको मधेश सरकारबाट बाहिरिँदै आफ्नो समर्थन फिर्ता लिएको थियो।
एमालेसँग सहकार्यको सम्भावना छैन: अध्यक्ष उपेन्द्र यादव
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने एमालेसँग सहकार्य गरी सरकारमा सहभागी हुने विषयमा पार्टीले कुनै निर्णय नभएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष यादवले आफ्नो पार्टीले एमालेसँग सरकारमा जाने विषयमा कुनै नीति नलिएको र कसैसँग कुनै समझदारीसमेत नभएको बताएका छन्। उनले वर्तमान परिस्थितिमा एमालेसँगको सहकार्य तत्काल सम्भव नरहेको उल्लेख गरेका छन्।
यादवले फेसबुकमा लेख्नुभएको छ, ‘जनता समाजवादी पार्टी, नेपाल वर्तमान अवस्थामा नेकपा (एमाले)सँग सहकार्य गरी सरकारमा सहभागी हुने सम्बन्धमा न त कुनै निर्णय नै गरेको छ, न त कुनै नीति नै लिएको छ, न कसैसँग कुनै समझदारी नै गरेको छ। तत्काल यो सम्भव पनि नरहेको अवस्था छ।’
मधेश प्रदेशसभाको अंकगणित
१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि ५४ सिटको बहुमत आवश्यक पर्छ। यस प्रदेशमा जसपा नेपाल २७ सिटसहित सबैभन्दा ठूलो दल रहेको छ। त्यसैगरी, दोस्रो ठूलो दल एमालेको २३, नेपाली कांग्रेसको २२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १५ सिट कायम रहेको छ।