बैतडी : बैतडीको पुर्चौंडी नगरपालिकाले लकडाउनका कारण छाक टार्न मुस्किल भएका परिवारलाई आजदेखि राहत वितरण कार्य शुरु गरेको छ । छाक टार्न मुस्किल भएका परिवारलाई प्रतिपरिवार दुई हजारको राहत वितरण गर्ने कार्य प्रत्येक वडामा सञ्चालन भएको नगरपालिकाका प्रवक्ता दलबहादुर धाँमीले जानकारी दिनुभयो ।
दैनिक छाक टार्न मुस्किल भएका नगर क्षेत्रभित्र ४१० परिवारको पहिचान भएको र उनीहरुलाई राहत वितरण गर्ने कार्य शुरु भएको नगरपालिकाले जनाएको छ । ती परिवारहरुलाई दाल, चामल, नून, तेल र साबुन वितरण गरिन थालिएको हो । नेपाली काँग्रेस पुचौँडी नगरपालिका वडा नं ६ को वडा कार्यसमितिले क्वारेन्टाइनमा बसेका नागरिकलाई खाद्यान्न, सरसफाइका सामग्री वितरण गरेको छ । भूमिराज मावि कफलढुङ्ग्रामा बसेका सात र जनता आधारभूत विद्यालय रौनालीचौैँडमा बसेका १० जनालाई चाउचाउ, चिउरा, कोलगेट, ब्रस र प्रतिव्यक्ति ५० रुपैयाँको रिचार्ज कार्ड वितरण गरेको नेपाली काँग्रेस वडा कार्यसमिति सचिव मोहन साउदले बताउनुभयो ।