काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा पराजित भए पनि पार्टीप्रतिको आफ्नो निष्ठा र प्रतिबद्धता अटल रहेको बताएका छन्।
उपसभापति पदमा खुलातर्फ उम्मेदवारी दिएका पाण्डेले १ हजार ६७३ मत प्राप्त गरेका थिए।
निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि पार्टीका आदर्श, मूल्य–मान्यता र अग्रजहरूको योगदानबाट प्राप्त विरासतप्रतिको निष्ठा कायम रहने उनले बताएका छन्।
‘उपसभापति पदको निर्वाचन परिणाम मेरो पक्षमा नआए पनि लोकतन्त्र, समाजवाद र कांग्रेसका आदर्श, मूल्य मान्यता तथा अग्रजहरूको त्याग र योगदानबाट प्राप्त विरासतप्रतिको मेरो निष्ठा अटल छ। यस अभियानमा मेरो साथ, सहयोग र सहकार्य सदैव रहनेछ,’ उनले भने।
उपसभापति खुलातर्फ चन्द्र भण्डारी र मधु आचार्य विजयी भएका थिए।
विजयी भएका नेताहरूलाई बधाई दिँदै पाण्डेले उनीहरूको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। प्राप्त जिम्मेवारी पूरा गर्दै पार्टीलाई थप एकताबद्ध, सुदृढ र जनमुखी बनाउन विजयी नेताहरू सफल हुने विश्वास पनि उनले व्यक्त गरेका छन्।
यस अभियानमा साथ, सहयोग र विश्वास गर्ने सबैप्रति आभार व्यक्त गर्दै पाण्डेले निर्वाचनको परिणामभन्दा आपसी सम्बन्ध, सहकार्य र पार्टीप्रतिको प्रतिबद्धता महत्त्वपूर्ण रहेको बताएका छन्।
लोकतन्त्र, समाजवाद र कांग्रेसका आदर्शप्रति आफ्नो निष्ठा कायम रहेको उल्लेख गर्दै उनले सबै मिलेर पार्टीको विरासतलाई अझ समृद्ध बनाउन र जनताको विश्वास जित्न अघि बढ्नुपर्नेमा जोड दिएका छन्।