काठमाडौँ : सरकारले लकडाउन गरेपछि त्यसको फाइदा उठाउँदै केही व्यवसायीले खाद्यान्नको मूल्य बढाउन थालेका छन् । ढुवानी भाडा बढेको र सामान ओसार्ने चालक नपाएको जनाउँदै उनीहरूले मूल्य बढाएका हुन् । लकडाउनयता सामानअनुसार किलोमा ५ रुपैयाँदेखि २० रुपैयाँसम्म मूल्य बढेको खुद्रा तथा होलसेल व्यवसायी बताउँछन् ।
‘मूल्य बढ्नुको उचित कारण छैन। तर मिल र आयातकर्ताले त्यत्तिकै खाद्यान्नको मूल्य बढाएका छन्,’ टोखा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय फुयालले भने, ‘विदेशबाट आयात छैन, स्वदेशी उत्पादनमै मूल्य बढाए।’ मिलबाट मूल्य बढ्दा त्यसको असर वितरक, होलसेल हुँदै खुद्रामा समेत पर्ने उनको भनाइ छ। होलसेलमा चामलको मूल्य प्रतिकिलो ४ रुपैयाँ, चनामा १५ रुपैयाँ र केराउमा १० रुपैयाँ बढेको छ। रहर दाल र खाने तेलको मूल्य पनि सोही अनुपातमा बढेको उनले बताए।
तर नियामक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने अनुगमनमा चासोसमेत दिएको छैन ।