दृष्टिविहीनलाई खानेपानीको समस्या

दृष्टिविहीनलाई खानेपानीको समस्या

काठमाडौँ: बन्दाबन्दीका कारण खानेपानी समेत पाउन नसकिएको दृष्टिविहीन विष्टको गुनासो छ । “आँखा देखिने भए मूल खोज्दै गएर खानेपानी ल्याइन्थ्यो, एक हातले लट्ठी समातेर कसरी पानीको मूल खोज्दै हिँड्नू, वडा कार्यालय जान लाग्दा समेत बाटामा प्रहरीले रोक्ने गरेको छ”–बन्दाबन्दीको पीडा सुनाउँदै उहाँले भन्नुभयो ।

गोकर्णेश्वर नगरपालिका वडा नं.–६ का अध्यक्ष रमेश अर्यालय राहत आएपछि पहिलो प्राथमिकता नै अपाङ्गता भएका व्यक्तिलाई दिई राहतको शुरुमै १४ बोरा चामल खगेन्द्र नवजीवन केन्द्रमा झारिएको बताउनुहुन्छ । अपाङ्गता भएकालाई अन्यत्रबाट केही हुन सकेन भने आफूले व्यक्तिगत रुपमा भएपनि राहत दिने उहाँको प्रतिबद्धता छ । वडा र नगरपालिकामै खानेपानीको समस्या रहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पटकपटक पानीको व्यवस्था गर्न भनेपनि खोल्ने मानिसको अभाव भएर पाउन नसकिएको वडा अध्यक्ष अर्यालले बताउनुभयो । वडामा छ हजार परिवारका करिब ३० हजार मानिस बसोवास गर्ने भएकाले पानीको समस्या समाधान गर्नु चुनौतीपूण रहेको वडा कार्यालयले जनाएको छ ।

गोकर्णेश्वर पानीको मुहान भएको नगरपालिका भएपनि यहाँ खानेपानीको समस्या जटिल छ । वाग्मतीको पानी नगरपालिकाको वडा नं.–१ सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि लगिएपनि नगरपालिकामै नपाएको नगरवासीको गुनासो छ । जसको प्रत्यक्ष मारमा परेका छन् दृष्टिविहीन, हात गोडाका अपाङ्गता भएका नागरिक । नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण २०७६ अनुसार नगरपालिकामा अपाङ्ता भएकाका २०० परिवार बसोवास गर्छन् । विभिन्न संस्थाको आवासमा बस्ने अपाङ्गता भएकाको सङ्ख्या यसमा समावेश नगरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा करिब तीन दर्जन सामाजिक संस्था यस क्षेत्रमा काम गर्ने गरी दर्ता भएका छन् । डेढ दर्जन संस्थाले आवासीय सुविधा सहित अपाङ्गता भएकालाई आश्रय दिएका छन् ।

लायन्स क्लब अफ ए वन ३२५ ले अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिई राहत वितरण गरेपनि सबैले पाउन सकेका छैनन् । सरकारले ज्याला गरेर जीवन यापन गर्ने मजदूर, अपाङ्गता भएका, विपन्न वर्गका परिवार लगायतलाई स्थानीय तहकै कोषबाट राहत दिन निर्देशन दिएको थियो । स्थानीय सरकारले राहत दिन सक्रियता देखाए पनि अपाङ्गता भएको पहुँच पुग्न सकेको छैन ।