काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले आगामी चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन विशेष सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका बेला हुन सक्ने सम्भावित आपराधिक गतिविधि र सुरक्षा चुनौतीलाई सम्बोधन गर्न यो एकीकृत सुरक्षा योजना लागू गरिएको जानकारी दिए।
सुरक्षा योजनाअन्तर्गत परिचालन हुने कुल जनशक्तिमध्ये उपत्यका बाहिर तथा माथिल्लो निकायबाट १९० जना थप प्रहरी ल्याइँदै छ। प्रहरीले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन काठमाडौँलाई ९८ वटा सेक्टरमा विभाजन गरी पोसाकधारी र ७० जना सादा पोसाकका प्रहरी परिचालन गर्ने भएको छ।
सुरक्षा गस्तीका लागि १६६ वटा मोबाइल भ्यान परिचालन गरिनुका साथै काठमाडौंका विभिन्न १ हजार २४२ स्थानमा जडान गरिएका सीसीटीभी क्यामेराबाट चौबिसै घण्टा निगरानी गरिनेछ। सर्वसाधारणको सहजता र उजुरी सुनुवाइका लागि काठमाडौंका प्रमुख १४ स्थानमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइनेछ।
चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, पकेटमारी, जुवातास, हत्या, ठगी, मादक तथा नशालु पदार्थ खुवाएर गरिने अपराध र सवारी दुर्घटनालाई मुख्य सुरक्षा चुनौतीका रूपमा वर्गीकरण गरिएको छ। धार्मिक तथा सांस्कृतिक मन्दिर, खाद्यान्न एवं खसीबजार, बसपार्क, बैंक तथा वित्तीय संस्था, सपिङ मल र सुनचाँदी पसलजस्ता बढी भिडभाड हुने स्थानलाई प्राथमिकतामा राखेर कडा सुरक्षा तैनाथी गरिने प्रहरीले जनाएको छ।