मनाङको हिम्लुङ हिमाल हिमपहिरोमा थप आठ शव भेटिए, मृतकको सङ्ख्या १५ पुग्यो

मनाङको हिम्लुङ हिमाल हिमपहिरोमा थप आठ शव भेटिए, मृतकको सङ्ख्या १५ पुग्यो

मनाङ। मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएकाहरूमध्ये असोज १५ गते (बिहीबार) थप आठ जनाको शव फेला परेको छ। यससँगै उक्त हिमपहिरोमा परेर ज्यान गुमाउने आरोही तथा सहयोगीहरूको सङ्ख्या १५ पुगेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार बिहान चार जनाको शव भेटिएकामा दिउँसो थप चार जनाको शव फेला परेको हो। यसअघि सात जनाको शव प्राप्त भइसकेको थियो। हिम्लुङ हिमपहिरोमा परेकामध्ये अब एक जना मात्रै बेपत्ता रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

उद्धार टोलीले बिहीबार दुई वटा शव सदरमुकाम चामे पुर्याएको छ भने छ वटा शव फूगाउँसम्म ल्याइएको छ। रात परिसकेकाले हेलिकप्टर उडान सम्भव नभएकाले बाँकी शवहरू शुक्रबार सदरमुकाम ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन्। नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी उद्धार तथा शव ल्याउने कार्य भइरहेको छ।

हिम्लुङ हिमालको आधार शिविरमा गत असोज ११ गते बिहान विनाशकारी हिमपहिरो गएको थियो। उक्त क्षेत्रमा हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए) ले ११ सदस्यीय दक्ष माउन्टेन गाइड टोली घटनास्थलमा खटाएको छ।

यसैबीच, मनाङमा परेको अविरल वर्षा र पहिरोका कारण उत्पन्न अन्य समस्या समाधानमा पनि सुरक्षा निकाय सक्रिय रहेको छ। नेपाली सेनाको टोलीले स्थानीयवासी र अन्य सुरक्षा निकायसँगको समन्वयमा चामे गाउँपालिका-४ स्थित ठाडो खोलामा पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदीको बहाव खुलाउने तथा अवरुद्ध भएको विद्युत् प्रसारण लाइन सुचारु गर्ने कार्य निरन्तर गरिरहेको छ।

छुटाउनुभयो कि ?