पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर

पोखरा । फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई बिहीबारदेखि पुनः निरन्तरता दिएको छ । 

गत जेठमा संरचना भत्काउन आक्रामक बनेको महानगरपालिका कानुनी प्रक्रिया, पुनः नापजाँच तथा वर्षातका कारण रोकिएको थियो । तीन पटकसम्म पत्राचार गर्दा पनि अटेर गरेपछि बाँकी संरचना भत्काउन सुरू गरिएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले बताए ।  

२०८० सालको नापजाँच प्रतिवेदनका आधारमा पहिचान गरिएका कुल १ सय ६० संरचनामध्ये यसअघि १ सय ४ वटा अस्थायी तथा केही पक्की संरचना भत्काइएको थियो ।

यद्यपि, खोलाको बहाव क्षेत्रभित्रै पर्ने करिब ५६ वटा पक्की र संस्थागत संरचनाहरू भत्काउन बाँकी नै थियो । यसअघि भत्काइएका कतिपय घरमा मानिसले बसोबास छोडेका छैनन् ।

बाँकी रहेका संरचनाहरूमा केही सरकारी कार्यालय, सामुदायिक भवन र ठूला पक्की घरहरू परेकाले नापजाँच र कानुनी प्रक्रिया मिलाउन समय लागेको बताइएको छ । 

चालु आर्थिक वर्षभित्र खोला घरका सबै संरचना हटाउने योजना रहेको महानगरपालिकाको पर्यटन तथा सहरी विकास महाशाखा प्रमुख विमल रञ्जन कार्कीले बताए । संरचना हटाएर खोला घर खाली गरेपछि संरक्षणको काम अघि बढाइने उनले सुनाए ।

महानगरले गत जेठ १० गतेदेखि खोलाघरमा बनेका संरचना एकसाथ तीन ठाउँबाट डोजर चलाएर हटाउन थालेको थियो । भत्काउनुअघि महानगरले ३५ दिनको समय दिएको थियो ।

छुटाउनुभयो कि ?