काठमाडौं। देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग तथा सहायक सडकखण्डहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न स्थानमा ठूला पहिराहरू खस्दा मुख्य-मुख्य सडकहरू पूर्ण रूपमा ठप्प भएका हुन् भने जोखिमलाई ध्यानमा राख्दै कतिपय क्षेत्रमा रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ।
बागमती प्रदेश र काठमाडौं उपत्यका जोड्ने ललितपुरस्थित कान्तिलोकपथ असोज १२ गते ताकुर्चेमा गएको पहिरोका कारण अझै पूर्ण रूपमा अवरुद्ध छ भने गोदावरीको टिका भैरव चारधारे सडक खण्डमा खसेको पहिरो पन्छाएर यातायातलाई एकतर्फी मात्र सञ्चालनमा ल्याइएको छ। त्यसैगरी भदौ १० गतेदेखि नै बाढीको चपेटामा परेको बेसीसहर हुँदै मनाङको खाङसार जाने सडक खण्ड अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द रहनेछ।
गण्डकी प्रदेशका अन्य हिमाली तथा पहाडी जिल्लाहरूमा पनि पहिरोले यातायात सेवा अस्तव्यस्त बनाएको छ। बागलुङस्थित कालिगण्डकी करिडोरको बेलबगरमा असोज ९ गते साँझ खसेको पहिरो हटाएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
यता म्याग्दीका दुई प्रमुख सडकखण्डहरू—बेनी-जोमसोमको बैसरी र सुकेवगर क्षेत्र तथा बेनी-दरबाङको घुमाउने भीर—असोज १० गते खसेको पहिरोका कारण पूर्ण रूपमा बन्द रहेका छन्। साथै मुस्ताङको थासाङस्थित जोमसोम-कोरला सडक खण्ड पनि असोज १० गतेदेखि नै अवरुद्ध हुँदा आवतजावत पूर्ण रूपमा ठप्प बनेको छ।