दसैं–तिहारका लागि नयाँ नोट साट्न नयाँ व्यवस्था

दसैं–तिहारका लागि नयाँ नोट साट्न नयाँ व्यवस्था

काठमाडौँ । यस वर्षको दसैं र तिहारका लागि सर्वसाधारणले नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन्।

विगतका वर्षमा जस्तो निश्चित मिति तोकेर नयाँ नोट वितरण गर्ने व्यवस्था नगरी यस वर्ष स्वस्फूर्त रूपमा आउनेलाई निरन्तर सटही सुविधा उपलब्ध गराइएको राष्ट्र बैंकले जनाएको छ।सर्वसाधारणले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट पनि नयाँ नोट साट्न सक्नेछन्।आफ्ना ग्राहकलाई वितरण गर्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट नयाँ नोट लिइसकेका छन्।

राष्ट्र बैंकका अनुसार नयाँ नोटको मौज्दातमा समस्या नरहेकाले साट्न आउने सर्वसाधारणलाई एक–दुई सेटसम्म नयाँ नोट उपलब्ध गराइँदैछ। राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयबाट पनि नयाँ नोट साट्न सकिनेछ। दसैंमा नयाँ नोटको माग बढी हुने भएकाले विगतका वर्षमा राष्ट्र बैंकले निश्चित मिति तोकेर ठूलो संख्यामा सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको थियो।

यस वर्ष भने कुनै विशेष कार्यक्रम वा तामझामबिना आवश्यकताअनुसार नयाँ नोट सटहीको व्यवस्था गरिएको हो। यसैबीच, बैंक तथा वित्तीय संस्थाहरूको मागअनुसार एटिएमबाट १ सय रूपैयाँ दरका नोट निकाल्न सकिने व्यवस्था पनि गरिएको छ। 

दसैंका बेला नयाँ तथा सुकिला नोट निकाल्न बैंकमा ग्राहकको भीड नलागोस् भन्ने उद्देश्यले बैंकरहरूले यस्तो व्यवस्था गर्न सुझाव दिएका थिए। राष्ट्र बैंकले केही वर्षयता दसैंमा नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्दै आएको छ। बैंक तथा वित्तीय संस्थाहरूले पनि सुकिला नोट लिन बैंकमा भीड बढ्नुको सट्टा एटिएमबाटै साना दरका नोट निकाल्न सकिने व्यवस्था गर्न सुझाव दिएका थिए।

हाल अधिकांश एटिएमबाट ५ सय र १ हजार रूपैयाँ दरका नोट मात्रै निकाल्न मिल्ने व्यवस्था छ। १ सय रूपैयाँ दरका नोट पनि एटिएमबाट निकाल्न सकिने व्यवस्था भएपछि दसैं–तिहारमा साना दरका नोटको माग व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?