रूपन्देहीमा २ करोड ५१ लाख मूल्य बराबरको सुनका गहनासहित काठमाडौँकी इला पटेल पक्राउ

रूपन्देहीमा २ करोड ५१ लाख मूल्य बराबरको सुनका गहनासहित काठमाडौँकी इला पटेल पक्राउ

भैरहवा। भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको एक किलो सुन तथा विभिन्न गरगहनासहित सशस्त्र प्रहरीले रूपन्देहीबाट एक महिलालाई नियन्त्रणमा लिएको छ। रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ स्थित शान्तिगेट चेकप्वाइन्टमा विशेष सुराकीका आधारमा गरिएको जाँचका क्रममा ठूलो परिमाणको गरगहनासहित काठमाडौँ महानगरपालिका-१९ की ४६ वर्षीया इला पटेल पक्राउ परेकी हुन्।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डा रूपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक गोपिकृष्ण भट्टराईको कमान्डमा खटिएको टोलीले असोज १४ गते (बुधबार) राति करिब ८ बजे भारतबाट नेपाल प्रवेश गर्दै गरेकी पटेललाई शङ्कास्पद अवस्थामा फेला पारेको थियो। लगत्तै इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी नायब निरीक्षक लालबहादुर केसीको कमान्डमा पुगेको प्रहरी टोलीसँगको संयुक्त खानतलासीका क्रममा उनको साथबाट पहेँलो धातुका विभिन्न गहना बरामद गरिएको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टराईका अनुसार बरामद गरगहनाको कुल तौल २ किलो ६०५ ग्राम रहेको थियो। त्यसलाई सुनचाँदी व्यवसायी सङ्घ रूपन्देहीमार्फत परीक्षण गराउँदा त्यसमा एक किलो शुद्ध सुन रहेको पुष्टि भएको छ। परीक्षणपश्चात् उक्त सुनको बजार मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम गरिएको छ।

बरामद गरगहनाहरूमा विभिन्न डिजाइनका ९ वटा हार, ८१ वटा औँठी, १३ वटा चुरा, चार वटा माला, हसुली किसिमका आठ वटा सिक्री, पत्थरसहितका २० वटा झुम्का, २४ वटा अन्य झुम्का, १४ वटा गोली औँठी, एउटा लकेट, १७ वटा पोते र २४ वटा सिक्री रहेका छन्। यसै गरी १८८ जोर बाली तथा जुली, पत्थरसहितका ६४ जोर टप, २२ वटा नाकफूली, दुई वटा पत्थरवाला हार, १० वटा साना झुम्का, ११ जोर कानबाली र आठ वटा ब्रेसलेटसमेत बरामद भएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएकी पटेल र बरामद गरगहनालाई आवश्यक कानुनी कारबाहीका लागि असोज १५ गते (बिहीबार) भैरहवा भन्सार कार्यालय रूपन्देहीमा बुझाएको छ। भारतबाट नेपाल प्रवेश गर्ने मुख्य सीमा नाका बेलहिया क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी बढाउँदै लगेको छ। पक्राउ परेकी महिला, बरामद सुनको स्रोत र ओसारपसारको मुख्य उद्देश्यबारे भन्सार कार्यालयले थप अनुसन्धान अगाडि बढाउने भएको छ।

छुटाउनुभयो कि ?