काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा आयोजना गर्न लागेको १५औँ महाधिवेशनको विस्तृत कार्यतालिका निर्वाचन आयोगमा पेस गरेको छ। कांग्रेस सभापतिको हैसियतमा देउवाले हस्ताक्षर गरी पठाएको पत्रलाई आयोगले असोज १३ गते दर्ता गरेर फाइल खडा गरी अभिलेख राख्न तोकादेश गरिसकेको छ।
प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गरी बुझाइएको उक्त पत्रानुसार १५औँ केन्द्रीय महाधिवेशन २०८३ साल मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा आयोजना गरिनेछ। पत्रमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको ५ वर्षको कार्यकाल विधानबमोजिम थप गरिएको अवधिसहित २०८३ मङ्सिर मसान्तमा समाप्त हुने भएकाले सोही संवैधानिक तथा वैधानिक व्यवस्थालाई ध्यानमा राखेर कार्यतालिका तय गरिएको उल्लेख छ।
स्वीकृत कार्यतालिकाअनुसार तल्लो तहका अधिवेशनअन्तर्गत २०८३ असोज १५ गते वडा अधिवेशन र असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन सम्पन्न गरिनेछ। यसै गरी असोज २३ गते प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मङ्सिर ४ गते सातै प्रदेशको प्रदेश अधिवेशन तोकिएको छ।
देउवा समूहले निर्वाचन आयोगको यसअघिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा पुनरावलोकनको अनुमति पाई विचाराधीन रहेकोसमेत पत्रमा खुलाएको छ। महाधिवेशन सम्पन्न भएपछि निर्वाचित केन्द्रीय तथा प्रदेश कार्यसमितिको नामावली कानुनबमोजिम अद्यावधिकका लागि पुनः आयोगमा पेस गरिने जनाइएको छ।