रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौं।  क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग अन्तर्गतको रोमाञ्चक खेलमा डेनमार्कलाई ४-२ गोल अन्तरले पराजित गरेको छ । कोपेनहेगनमा भएको यस जितसँगै पोर्चुगलले आफ्नो उत्कृष्ट यात्रालाई जारी राखेको छ ।

पोर्चुगलले खेलको १५ औँ मिनेटमै अग्रता लिएको थियो । जोआओ कान्सेलोले जोआओ फेलिक्स र गोन्कालो रामोससँगको उत्कृष्ट तालमेल मिलाउँदै डेनमार्कका गोलरक्षक हर्मानसेनलाई छक्याएर पहिलो गोल गरे ।

तर, २३ औँ मिनेटमा डेनमार्कका म्याहलेको पासमा डाम्सगार्डले उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । बराबरीको खुसी डेनमार्कले धेरै बेर मनाउन पाएन । गोल खाएको तीन मिनेटमै पोर्चुगलले पुनः अग्रता बनायो । ब्रुनो फर्नान्डेसको पासलाई सदुपयोग गर्दै गोन्कालो रामोसले टिमका लागि दोस्रो गोल गरे ।

दोस्रो हाफको सुरुआतमै डेनमार्कले पुनः खेललाई २-२ को स्थितिमा ल्यायो । ५३ औँ मिनेटमा डाम्सगार्डको पासमा रासमुस होयलुण्डले पोर्चुगलका गोलरक्षक कोस्टालाई माथिबाट चिप गर्दै सुन्दर गोल गरे ।


त्यसपछि आक्रामक बनेको पोर्चुगलका लागि ६७ औँ मिनेटमा भिटिन्हाले गोल गर्दै टोलीलाई ३-२ ले अगाडि बढाए । ब्रुनो फर्नान्डेसको क्रसमा भिटिन्हाले हेडरमार्फत गोल गरेका थिए ।

खेलको अन्तिमतिर स्थानान्तरित खेलाडीका रूपमा मैदान छिरेका जोआओ फेलिक्सले डियोगो डालोटको पासमा गोल गर्दै पोर्चुगलको ४-२ को जित पक्का गरे । यस जितसँगै पोर्चुगलले पछिल्ला १३ खेलमध्ये १२ मा हारविहीन यात्रा कायम राखेको छ ।

छुटाउनुभयो कि ?